Header Ads


‘अस्थायी अनुमतिको बाटो स्तरीकरण गर्दै स्थायी बनाउनुपर्ने’

हेटौंडा, १६ भदौ/मकवानपुरका १६ वटा सडकले सवारी साधन सञ्चालनको निम्ति अस्थायी अनुमति पाएपछि यातायात व्यवसायीले यसलाई स्वागतयोग्य निर्णय भनेका छन् । 
राष्ट्रिय तथा स्थानीय स्तरबाट निर्माण भएका विभिन्न सडकमा सवारी सञ्चालन अनुमति माग्दै जिल्ला यातायात व्यवस्थापन समिति मकवानपुरले यातायात व्यवस्था कार्यालय बीरगञ्जमा पठाएको पत्रलाई स्वीकृत गर्दै यातायात व्यवस्था कार्यालयको मङ्गलबारको यातायात व्यवस्थापन समिति बैठकले मकवानपुरका १६ वटा सडक खण्डलाई अस्थायी अनुमति दिएको थियो । अस्थायी अनुमति पाएका सडकको स्तरोन्नती गर्दै ती सडकलाई स्थायी अनुमति दिने कार्यमा राज्यले तत्परता देखाउनुपर्ने यातायात व्यवसायीको माग छ । ‘सवारी सञ्चालनको लागि अस्थायी अनुमति र रुट परमिटका कारण मकवानपुरको ग्रामीण भेगको ९५ प्रतिशत समस्या हल भएको छ’, नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव 
सरोज खनालले भने, ‘अब राज्यले कस्तो नीति ल्याउँछ र फेरी रुट परमिट र सडक अनुमतिको बिषयलाई कसरी ‘सेटल’ गर्छ त्यो राज्यको कुरा हो ।’
अब फेरि परमिट र बाटोको बिषयमा समस्या सृजना हुन नदिनको निम्ति राज्यले यातायात व्यवसायीसंगको सहकार्यमा काम गर्नु आवश्यक रहेको महासचिव खनालको भनाइ छ । यस्तै टेम्पो तथा मझौला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष प्रदीपराज गिरीले अस्थायीलाई स्थायी बनाउनु आवश्यक रहेको औँल्याउँदै सवारी दुर्घटना भएर ठूलो धनजनको क्षति भएपछि मात्र रुट परमिट र बाटो अनुमतिको बिषय उठ्नु गलत भएको बताए । ‘यातायात क्षेत्रमा के कस्ता समस्या रहेका छन् भन्ने बिषय सबैलाई अवगत भएकै कुरा हो’, उनले भने, ‘दुर्घटनाको पछाडि यातायात व्यवसायीलाई मात्र दोष देखाउन खोजिन्छ त्यो गलत हो ।’ अनुमति नभएको बाटोमा सवारी सञ्चालन गरेर सर्वसाधारणलाई सेवा दिँदै आएको र दुर्घटना हुँदा समस्या रहँदै आएको भए पनि अब त्यो समस्या भने नरहने उनको विश्वास थियो ।
Powered by Blogger.