३० गते साक्षर मकवानपुर घोषणा हुने
हेटौंडा, २१ भदौ÷मकवानपुरलाई यही भदौ ३० गते साक्षर जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालय मकवानपुरको आयोजनामा ३० गते हेटौँडामा एक कार्यक्रमकाबीच साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको छ ।
यहाँका १५ देखि ६० बर्ष उमेर समूहका ९८ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि मकवानपुरलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा माथि साक्षर भएको जिल्लालाई पूर्ण साक्षर भएको घोषणा गर्न मिल्ने प्रावधान रही आएको छ । ‘शिक्षामन्त्री धनीराम पौडलको प्रमुख आतिथ्यतामा घोषणासभा गर्ने कार्यक्रम तय भएको छ’, उनले भने, ‘कार्यक्रम सफल पार्नको निम्ति तयारी अघि बढाइसकिएको छ ।’ मकवानपुरका सहायक शिक्षा अधिकारी शभ्मु पौडेलका अनुसार मकवानपुरमा गत २०६६÷०६७ देखि साक्षरता अभियान सुरु गरिएको थियो । मकवानपुरका सबै गाविस र नगरपालिकाको वडाहरुमा साक्षरता कक्षाहरु सञ्चालन गरिएको र एकबर्ष बिद्यार्थी परिचालन कार्यक्रम पनि भएको उनको भनाई छ । ३० गते सिद्धार्थ उच्च माविमा भेला भएर ¥यालीसहित बाजागाजाका साथ मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभाहलमा घोषणासभा हुने कार्यक्रम रहेको छ ।

