डेढ महिनापछि खुल्यो युनिलिभर
हेटौंडा, ६ असोज/हेटौँडा–२८ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड डेढ महिनापछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ ।
उद्योग व्यवस्थापन र मजदुरहरुबिच आपसमा भएका असमझदारी र सहमतिहरुबारे छलफल गरी ४५ दिनभित्र उचित निकास दिने सहमतिपछि उद्योग बिहीबारबाट सञ्चालनमा आएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेकाअनुसार संघ र उद्योग संघ मकवानपुरको समन्वयमा उद्योगको व्यवस्थापन र मजदुर पक्षबीच बुधबार हेटौँडामा भएको छलफलले उद्योग सञ्चालनमा ल्याउने सहमति भएको थियो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेबापत निलम्बनमा परेका मजदुरको ३० दिनसम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानेर आगामी दिनमा कार्बाही नगर्ने, २९ मई २०१६ मा उद्योग व्यवस्थापन र मजदुरको बीचमा भएका सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने, प्रत्येक मजदुरलाई दुई लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने लगायतका बिषयमा लिखित सहमति भएको जिफन्ट सम्बद्ध मजदुर संगठनका युनिलिभर इकाई अध्यक्ष लालकृष्ण प्याकुरेलले जानकारी दिए । मजदुरहरुस“गको छलफलको क्रममा कारखाना सञ्चालक तथा सप्लाई चेन प्रमुख अभिजित मुखोपाध्यायले उद्योग बन्द हुँदा करिब ६० करोड रुपैयाँ नोक्सान भएको जानकारी दिए ।
मजदुरहरुले उद्योग व्यवस्थापनले यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै २८ दिन उत्पादिन सामग्री निर्यातमा रोक लगाएका थिए ।
मजदुरहरुले सामग्री निर्यातमा अवरोध गरेपछि अवैध हड्ताल अवधिमा कामदार युनियनले गरेको बाधा, घेराउ, तोडफोड र हुलदंगाका कारण देखाउँदै उद्योग व्यवस्थापनले साउन १३ गतेदेखि उद्योग बन्द गरेको थियो । अखिल नेपाल औद्योगिक मजदुर संघ युनिलिभर इकाई अध्यक्ष जयराम धितालले डेढ महिनादेखि बन्द अवस्थामा रहेको फ्याक्ट्री बिहीबार सरसफाइ गरिएको बताए ।
‘डेढ महिनादेखि बन्द हुँदा केही असर त पक्कै पर्छ नै, हामीले उपकरणको अवस्था कस्तो छ भनेर हेर्नुका साथै सरसफाई गरेका छौं,’ धितालले थपे, ‘सायद आइतबारबाट काम सुरु गरी उत्पादन सुरु हुनेछ ।’ २२ वर्षदेखि सञ्चालित उद्योगले साबुन, पेष्ट, सेम्फुलगायतका सामग्री उत्पादन गर्दै आएको छ । उद्योगमा दुई सय आठ जना मजदुर कार्यरत छन् । युनिलिभरसँग हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका युनिक सोप, गंगा शोप र नेशनल शोप उद्योग आश्रित रहेका छन् ।

