फापरबारी गाविस खुला चरिचरनमुक्त
हेटौंडा, मकवानपुरको फापरबारी गाविस खुला चरिचरनमुक्त क्षेत्र घोषणा भएको छ ।
शुक्रबार वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले ४० वटा सामुदायिक वन र दशवटा कवुलियती वन क्षेत्रसहित १७ हजार ६ सय ८२ हेक्टर वन क्षेत्र रहेको फापरबारी गाविसलाई खुला चरिचरनमुक्त गाविस घोषणा गरेका हुन् । सामुदायिक तथा कवुलियती वनका पदाधिकारी, स्थानीय तथा कार्यक्रममा सहभागीहरुलाई मन्त्री भण्डारीले सपथ खुवाएर खुला चरिचरणमुक्त भएको घोषणा गरेका हुन् ।
चरिचरनमुक्त घोषणा गरेसँगै मन्त्री भण्डारीले जनस्तरबाट चालिएको यो कदमले वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखे । ‘जनस्तरबाट भएको यो कामको मन्त्रालय उच्च प्रशंसा गर्दछ’, उनले भने, ‘राज्यले गर्दा नहुने काम जनस्तरबाट गर्दा सजिलै सफल हुन्छ भन्ने प्रमाणित फापरबारीबासीले गरेका छन् ।’ मन्त्री भण्डारीले यो अभियानलाई देशभर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले राज्यले गर्नुपर्ने काम जनताले गरेर राज्यलाई दबाब दिएको भन्दै स्थानीयको प्रशंसा गरे । ‘यसक्षेत्र खुला चरिचरनमुक्तहुँदा फापरबारी गाविसको बजार र बस्ती संरक्षणलाई समेत टेवा पुगेको छ । त्यसकारण हामीले घोषणासँगै कार्यान्वयन पक्षलाई पनि अगाडि बढाउन जरुरी रहेको छ’, मन्त्री भण्डारीले भने ।
व्यवस्थापिका सांसद्अन्तर्गत्को वातावरण समिति सदस्य बीरबहादुर बलायरले सधैं कार्यालयमा बसेर काम गर्ने जनप्रतिनिधिहरुलाई जनस्तरबाट भएको कामबाट पाठ सिक्ने मौका मिलेको बताए । उनले आफ्नो समितिमा यस विषयमा व्यापाक आवाज उठाउने र आगामी दिनमा मातहतका निकायमार्फत् घोषणापछिका कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । सांसद् इन्द्रबहादुर बानियाँले फापरबारी गाविस खुला चरिचरणमुक्त भएसँगै उक्त क्षेत्रको बजार तथा गाउँ बाढीपहिरोको जोखिममुक्तहुँदै गएको बताए ।
‘फापरबारी क्षेत्र बाढीपहिरोको उच्च जोखिम भएको गाविस हो । यो कामले बाढीपहिरोबाट हुने क्षतिको न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिएको छु’, सांसद् बानियाँले भने । फापरबारी गाविसका स्थानीय जैविक विविधता सञ्जाल संयोजक उद्धब तिमल्सिनाको सभाध्यक्षतामा भएको घोषणासभामा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला वन अधिकृत राजेन्द्र पन्त, पूर्वसांसद् प्रेमबहादुर पुलामी, नेकपा एमाले जिल्ला सदस्य अणराज जर्गामगर, इलाका वन कार्यालय फापरबारीका प्रमुख सुरेशकुमार गुप्ता, माओवादी केन्द्रका माधवप्रसाद घोरासैनी तथा राप्रपाका दिलबहादुर बललगायतले शुभकामना मन्तव्य व्यक्त गरको थिए ।

