फेसबुकबाट भिडियो एक्सरे मेसिन
हेटौंडा, ७ असोज/पैसा कमाउने तथा पढ्ने उद्देश्यले विदेशीएका युवाहरुले बिस्तारै आफ्नो गाउँ ठाउँलाई माया मार्छन् र वास्ता गर्दैनन् भन्ने बुझाइलाई मकवानपुरको हाँडीखोलाका युवाहरुले गलत सावित गरिदिएका छन् । करिब ६ महिनाको अवधिमा हाँडीखोला प्रवासी समूहको नाममा सामाजिक सञ्जाल फेसबुकबाट ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ अभियान सञ्चालन गरी करिब ८ लाख रुपैंया संकलन गरेर युवाहरुले आफ्नो गाउँको लागि भिडियो एक्सरे मेसिन सहयोग गरेका छन् । शुक्रबार स्वास्थ्यचौकीमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भोला चौलागाईँ, मेसिन खरिद् समितिका संयोजक ज्योतिराज लुईँटेललगायतले स्वास्थ्यचौकी प्रमुख हेल्थ असिष्टेण्ट कृष्णकुमार यादव र स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष हाँडीखोला गाविस सचिव राजु आचार्यलाई मेसिन हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका भोला चौलागाईँले मेसिन सञ्चालनको निम्ति दक्ष कर्मचारीको आवश्यकता रहेको बताउँदै जनस्वास्थ्य कार्यालयले एकजना कर्मचारीको लागि मेसिन सञ्चालन गर्ने तालिमको लागि सहयोग गर्ने बताए ।
‘सरकारको तर्फबाट हुन नसकेको काम हाँडीखोलाका युवाहरुले गरेका छन्’, उनले भने, ‘यस कार्यलाई हाम्रो कार्यालयबाट हुने सबै खाले सहयोग हुनेछ ।’ भिडियो एक्सरे मेसिन सहयोग अभियानका प्रमुख अभियन्ता हाल दक्षिण कोरियामा रहेका सञ्जिव पाठकले शुभकामना सन्देश पठाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । ‘पहिलो चरणको यो अभियानमा हामीले सबैको सकारात्मक सहयोग पाएका छौं’, उनले पठाएको सन्देशमा भनिएको छ, ‘यसले हामीलाई निरन्तर सामाजिक कार्यमा लाग्ने हौसला प्रदान गरेको छ ।’ भिडियो एक्सरे खरिद् समितिका संयोजक समेत रहेका हाँडीखोला स्वास्थ्यचौकीका अहेब ज्योतिराज लुईँटेलका अनुसार प्रवासी समूहबाट ७ लाख ५७ हजार एकसय ६९ रुपैँया सहयोग प्राप्त भएको थियो । यस अभियानका लागि ७८ जनाले न्यूनतम ५ हजार रुपैँयादेखि एकलाख एक रुपैँयासम्म सहयोग गरेको उनको भनाई छ । ‘हेटौंडाबाट नजिकै रहेर पनि स्वास्थ्यको दृष्टिकोणले पछाडि नै रहेको यस हाँडीखोलाका युवाहरुले गरेको यस कार्य निकै प्रशंसनीय रहेको छ’, लुईँटेलले भने । स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, राजनीतिक दलको स्थानीय नेताहरुको तर्फबाट नेकपा एमालेका अर्जुन पुडासैनी, मकवानपुर कोरिया मञ्चका अध्यक्ष शम्भु पुडासैनी, स्वास्थ्यचौकी व्यवस्थापन समिति पूर्व अध्यक्ष गोपाल पौडेल, प्रवासी समूहको तर्फबाट महेश खुलाललगायतले अब थालनी हुन लागेको एम्बुलेन्स खरिद् अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
