थाहा नगरको विकासमा सहयोग गर्नेछु: मन्त्री केसी
हेटौंडा, १० असोज/सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले थाहा नगरलाई कुनै हालतमा नयाँ नगर विकास योजनाभित्र पार्ने आश्वासन दिएका छन् ।
२०७३ सालको विजया दशमी, दीपावली तथा छठको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान एवम् पार्टी कार्यकर्ता भेटघाटका लागि थाहा नगर आइपुगेका उनले यस्तो आश्वासन दिएका हुन् । ‘सबै दृष्टिकोणले सुन्दर यस थाहा नगरको विकासको निम्ति मेरो तर्फबाट आवश्यक सहयोग हुनेछ,’ उनले भने, ‘त्यसको लागि तपाईँहरुको पहल कदमीको पनि आवश्यक रहन्छ ।’
उनले नेपाली कांग्रेसका कार्यकर्ताले झुकेर हिंड्नुपर्ने कुनै कारण नरहेको भन्दै कांग्रेसको नेतृत्वमा भएका उपलब्धीको चर्चा गरेका थिए । ‘हालसम्म भएका उपलब्धीहरु नेपाली कांग्रेसकै नेतृत्वमा भएका छन् । अरुले गफ गरे, हामीले काम गरेर देखाएका छौं’, मन्त्री केसीले थपे, ‘अब पनि कांग्रेसले नै मुलुकको नेतृत्व गर्नेछ यस बिषयमा ढुक्क हुनको निम्ति तपाईंँहरुलाई अनुरोध गर्दछु ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले संविधान कार्यान्वयनको लागि सबै एकजुट भएर लाग्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसी, मकवानपुर जिल्ला सभापति एवम् सांसद इन्द्र बानियाँ, महासमिति सदस्यहरु जयराम लामिछाने, उमा दाहाल र भरत लामा तथा थाहानगर विकास समिति अध्यक्ष खड्ग गोपालीले नजिकिंदै गरेको चाडपर्वलाई क्षमता अनुसार मनाउन अनुरोध गरे । चाडपर्वको नाममा अनावश्यक खर्च हुने गरेको भन्दै वक्ताहरुले मितव्ययिता अपनाउन अनुरोध गरे । नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा थाहा नगरपालिकास्थित पालुङ जेसीज हलमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

