छोनाम पर्वमा हाँडीखोलामा विशेष कार्यक्रम
हेटौंडा, २२ भदौ/मकवानपुरसहित देशभरका चेपाङ समुदाय बुधबार छोनाम अर्थात न्वागी पर्व मनाएका छन् । चेपाङ समुदायले पान्देई घ्यासा भन्ने यो पर्वमा मुख्य गरी नयाँ बाली देउतालाई चढाएर खुसी मनाउने चलन रहेको छ ।
अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरि खान पुगोस् भन्ने कामना गर्दै आपसमा खुसी साटासाट गरेर यो पर्व मनाउने गरिएको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् पूर्वा सभाषद् गोबिन्दराम चेपाङले जानकारी दिए । मकवानपुरको हाँडीखोलामा विभिन्न ६ जिल्लाका चेपाङ अगुवा भेला भएर बुधबार यो पर्व मनाइएको छ । मकवानपुर, चितवन, धादिङ, लमजुङ, तनहुँ र गोरखाका चेपाङ अगुवाहरु हाँडीखोला आएका छन् ।
हाँडीखोलाको वडा नम्बर १ र २ मा रहेको चकरी मकरीमा भेला भएर बुधबार रातभर नाचगान एवम् रमाइलो गर्ने कार्यक्रम रहेको चेपाङको भनाइ छ । ‘बर्षदिन भरीको अन्नबाली भित्र्याइसकेपछि हामीले यस पर्वलाई मनाउने गरेका छौँ’, पूर्व सभाषद् चेपाङले भने, ‘यस पर्वलाई चेपाङ समुदायको पहिलो चाडको रुपमा मनाइन्छ ।’ अन्न भित्र्याइसकेपछि अब हाम्रो लागि अनिकाल सकियो, ३÷४ महिनालाई खान पुग्ने भो भनेर खुसियाली मनाउँदै यो पर्व मनाइने गरेको चेपाङ अगुवाको भनाइ छ । हरेक वर्षको भदौ २२ गते मनाउने छोनामका अवसरमा संघले चेपाङ समुदायको बसोबास रहेका क्षेत्रमा पालैपालो कार्यक्रम गर्ने गरेको छ । कार्यक्रममा सहभागी नभएका चेपाङ समुदायले भने गाउँघरमा भेला भएर नाचगान गरी यो पर्व मनाउने गरेका छन् । समुदायको बसोबास रहेको अधिकांश भूभागमा मकै खेती गरिन्छ । पहिले गिठ्ठा भ्याकुर खाएर जीवन गुजारा गर्दै आएका उनीहरुले छोनामका अवसरमा अहिले उब्जिएको मकैले वर्षैभरी खान पुगोस् भनेर मकैको पूजा गर्ने चलन रहेको छ ।

