१३ सवारीबाट बढी भाडा फिर्ता
हेटौंडा, ३ कात्तिक/चाडपर्वको समयको गलत फाइदा उठाउँदै यात्रुहरुसंग बढी भाडा लिने १३ वटा सवारीबाट मकवानपुर प्रहरीले भाडा फिर्ता गराएको छ ।
कात्तिक १ गते देखि ३ गतेसम्म पुर्वका विभिन्न स्थानबाट हेटौंडा हुँदै काठमाण्डौं जाने सवारी चेकिङको क्रममा ३ दिनमा १३ सवारीले बढी भाडा लिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बढी भाडा लिएको सवारीबाट भाडा फिर्ता गराएको हो । यात्रुहरुको भाडा फिर्ता गराउनुको साथै सवारी चालकहरुलाई
जरिवाना समेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

