Header Ads


अनुगमन टोलीलाई दुव्र्यवहार गरेको भन्दै होटल व्यवसायी नियन्त्रणमा

हेटौंडा, १७ असोज/अनुगमन टोलीलाई दुव्र्यवहार गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाका एक होटल व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
श्रम कार्यालय हेटौंडाको नेतृत्वमा सोमबार हेटौंडामा भएको अनुगमनको क्रममा हेटौंडा–२६ लालझाडीमा रहेको रेड भिलेज होटलमा पुगेको जिल्लाका सरकारी एवम् गैरसरकारी प्रतिनिधी सम्मिलित टोलीलाई होटलका सञ्चालक ध्रुव देवकोटाले दुव्र्यवहार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । १३ बर्षका एक बालकलाई श्रममा लगाएको पाइएपछि उक्त बिषयमा छलफल गर्दै गर्दा अनुगमन टोलीलाई दुव्र्यवहार गरेको मौखिक उजुरी पश्चात मकवानपुर प्रहरी प्रमुख मीरा चौधरीले म्याद थप गरेर अनुसन्धान गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको जानकारीमा आएको छ । 
आफूलाई १४ बर्ष भन्दा मुनिका बालबालिकालाई श्रममा लगाउन हुँदैन भन्ने बिषयमा थाहा नभएको बताउँदै देवकोटाले  आफू नेपालको संविधान मान्न तयार नरहेको बताएका थिए । अनुगमनमा संलग्न श्रम कार्यालय हेटौंडाका प्रमुख श्याम श्रेष्ठ, नेपाल प्रहरीका सहायक निरीक्षक अनिष बुढाथोकीलगायतको मासिक तलब भन्दा आफूले काममा लगाएको बालकलाई बढी तलव दिएको उल्लेख गर्दै उनले नेपालका ६ सय १ जनाले बनाएको संविधान आफूले मान्नैपर्छ भन्ने जरुरी नभएको धम्की दिएका थिए । ‘यहाँ मैले पालेर राखेको यो केटालाई मैले गरेको भन्दा केही कमी भयो भने त्यो राम्रो हुनेछैन’, अनुगमनमा संलग्न व्यक्तिहरुलाई औंला ठड्याउँदै उनले भने, ‘यो भाईको जिम्मा तिमारुले लिनुपर्छ । तिमारुको काम नै यस्तै हो, हामीलाई सबै थाहा छ ।’ 
अनुगमनमा रहेका हेटौंडा उपमहानगरपालिका कार्यालयका समाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, महिला तथा बालबालिका कार्यालय मकवानपुरका रबि हमाल, बालकल्याण समाजका कार्यक्रम संयोजक प्रकाश खतिवडा, सिविन बालहेल्पलाइनका झबिन्द्र ज्ञवालीसहित प्रहरी र पत्रकारले १४ बर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नहुने बताइरहँदा देवकोटाले नेपालका नेताहरुलाई गाली गर्दै आफूले १३ बर्षका बालकलाई काममा लगाएर कुनै गल्ति नगरेको बताएका थिए । अनुगमन टोलीमा दुईजना प्रहरी कर्मचारी रहेकोमा उनको दुव्र्यवहार पश्चात थप प्रहरी लालझाडी पुगेको थियो । उनले त्यसपछि भने लचक हुँदै बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण उनकै आमाले होटलमा ल्याएर छोडिदिएको बताएका 
थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एसपी मीरा चौधरीले अनुगमन टोलीलाई दुव्र्यवहार गरेकोले देवकोटालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए ।

बालश्रमिकको प्रयोग कायमै 
हेटौंडा/हेटौंडाका विभिन्न होटल, कारखाना तथा ग्यारेजहरुमा बालश्रमिक अझै प्रयोग कायमै रहेको पाइएको
 छ । 
श्रम कार्यालय मकवानपुरको अगुवाईमा बालकल्याण समाज मकवानपुरको आयोजना एवम् प्लान नेपालको सहयोगमा भएको अनुगमनको क्रममा हेटौंडाको दुईवटा होटलमा १४ बर्ष मुनिका बालकहरु कामदारको रुपमा रहेको पाइएको हो । हेटौंडा–२ मा रहेको विशाल होटल एण्ड खाजा घर र हेटौंडा–२८ लालझाडीमा रहेको  रेड भिलेज होटलमा १३ बर्षका बालकलाई कामदारको रुपमा प्रयोग गरेको पाइएको हो । रेड भिलेजका बालकलाई अनुगमन टोलीले उद्वार गरेको छ भने विशाल होटलका बालकलाई रोजगारदाताले परिवारको जिम्मा लगाउने बताएपछि छोडिदिएको छ । टोलीले हेटौंडा कान्तिराजपथमा रहेको प्रशान्त मोटरबाइक वर्कसप, कान्तिराजपथमै रहेको हाम्रो फापरबारी हाखा होटल एण्ड लज र अमन बेकरी हेटौंडा–१० मा पनि अनुगमन गरेको थियो । टोलीले १४ बर्ष मुनिका बालबालिकालाई काममा नलगाउन र आफ्नो संस्थामा कार्यरत कामदार बालबालिकाको उमेर खुल्ने कागजात राख्नको निम्ति सुझाव दिएका थिए ।
Powered by Blogger.