नापी कार्यालयमा आगलागी, ४३ जना घाइते
हेटौंडा, १० कात्तिक/हेटौंडा–५ मा रहेको नापी कार्यालयमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् भने लाखौं मूल्य बराबरको धनमालको क्षति भएको छ ।
बुधबार दिउँसो करिब पौने २ बजेतिर भएको आगलागीमा परी कार्यालयका कर्मचारी र सेवाग्राही गरी ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । नापी कार्यालय भवनमा रहेको होटलमा ग्यास लिकेजपश्चात् आगलागी सुरु भएपछि पहिलो तल्लामा रहेका नापी कार्यालयका सेवाग्राही र कर्मचारी हाम फाल्ने क्रममा घाइते भएको प्रत्यक्षदर्शी अञ्जनीकुमार पराजुलीले जानकारी दिएको छ ।
घाइतेहरु अधिकांशको हातखुट्टामा चोट लागेको छ । केहीको शरीरको भागहरु जलेको समेत छ । नापी कार्यालय रहेको भवनको भुईंतल्लाको एक होटलबाट आगलागी सुरु भएको उनले बताए । आगलागीको क्रममा ५ वटा ग्यासको सिलिण्डर पड्केको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार ४३ जना केही सामान्य उपचार पश्चात घर फर्किसकेका छन् भने बाँकीको हेटौंडा अस्पताल, चुरेहिल हस्पिटल र हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था मध्यम रहेको बताइएको छ । आगोमा पर्ने डरले भवनको माथिबाट हाम्फालेका कारण धेरै घाइते भएको प्रहरी प्रवक्ता गौतमको भनाइ छ । घाइतेहरुको उद्दार र आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीबाट एक सय प्रहरी, नेपाली सेनाबाट ३५ जना सेना, र सशस्त्र प्रहरीबाट २५ सशस्त्र प्रहरी परिचालन भएको प्रहरी नायब उपरीक्षम गौतमले स्थानीय र युवाहरुबाट पनि सहयोग प्राप्त भएको बताए ।
घटना भए लगतै मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्त र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मीरा चौधरी तथा विभिन्न राजनीतिक दलका नेता तथा युवा दस्ताहरु घटनास्थल पुगेका थिए । आगलागीका कारण ४ वटा मोटरसाइकल जलेर नष्ट भएको छ भने कार्यालयका अन्य सामग्री र कागजपत्रमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार ग्यासको सिलिण्डर वा विद्युत् सर्ट हुँदा आगलागी भएको बताउँदै उनले हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको बताए ।
