उद्योगमैत्री वातावरणको खाँचो
हरेक उद्योग ब्यवसायमा लगानीकर्ता र मजदुर दुवै बीचमा सामन्जस्यता रहन सके मात्र उद्योगले लक्ष्य अनुरुपको उत्पादन गरी प्रतिफल दिन सक्दछ । मालिक र मजदुर बीच पारिश्रमिक र सेवा–सुविधाको लेनदेनमा हमेसा रस्साकस्सी चलिरहे अन्ततः उद्योग तरलतामा जानुको कुनै विकल्प रहन्न । पछिल्लो समय उद्योगधन्दा बन्द हुनुमा विभिन्न कारणहरु देखिए पनि अधिकांश औद्यिगिक प्रतिष्ठानहरुमा शुरुवाती द्वन्द लेनदेनबाटै सृजना हुने गरेको पाईन्छ ।
बजारको अनियन्त्रित मुल्य बृद्धीका कारण मजदुरद्वारा तलब, बोनस बृद्धीलगायतको माग गर्नु जायजै देखिन्छ । यस्तै लेनदेनका कारण बेला बेला ब्यवसायी र मजदुर बीच हुने गरेका द्वन्द न्युनिकरण गर्ने उद्देश्यकासाथ हालै मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको संयोजकत्वमा औद्योगिक सुरक्षा र लगानीमैत्री वातावरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हरेकले उद्योग धन्दा नै देश विकासको मुख्य आधार भएको कुरा प्रष्ट्याएका छन् । कार्यक्रममा उद्योगीलाई एकद्धार प्रणालीबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउनसके मात्र देशमा उद्योगधन्दा चल्ने वातावरण तयार हुनसक्ने र युवाको विदेश पलायनको दरलाई कम गर्न सकिने कुरामा बक्ताहरुको एकमत थियो । औद्योगिक क्षेत्रमा सुरक्षाको वातावरण निर्माण गर्ने दायित्व उद्योगीको पनि हुने भएकोले स्वयम् उनीहरु अघि सरेमात्र उद्योगलाई आवश्यक सुरक्षा दिन राज्य प्रतिबद्ध हुने केहिको भनाई थियो ।
अहिले देशको हरेक क्षेत्र केवल आयातमा निर्भर छ । उद्योगधन्दाको साटो भू–माफियाको धन्दा फष्टाएको छ भन्दा फरक नपर्ला । यो क्रम केही दशक चलिरहे देश टाट पल्टने निश्चित छ । यस्तो जटिल एवम् विषम परिस्थितिमा न्युन मात्रामा देशमा रहेका उद्योग सञ्चालनका लागि राज्यबाट सक्दो सहयोग हुुनु अत्यन्त जरुरी छ । अस्पष्ट ऐन र नीति, मुल्यबृद्धी, उर्जा संकटलगायतका उद्योगलाई सिधै असर गर्ने तत्वहरुको सन्तुलन कायम राख्न राज्यद्वारा ठोस पहल हुन आजको आवश्यकता हो । त्यसो हुन सकेमात्र लामो समयदेखि मारमा परेको लगानीकर्ताका लागि लगानी मैत्री वातावरण तयार गर्न सकिन्छ । उद्योगधन्दाको विकासबाट मात्र देश विकास संभव छ भन्ने कुरा हरेकले बुझ्न सकेमात्र उद्योग धन्दाले स्थायीत्व पाउने कुरामा कसैको विमति नरहला ।
