Header Ads


प्राधिकरणको ज्यालादारी मजदुर आन्दोलित

हेटौंडा, २ कात्तिक/नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ज्यालादारी मजदुरहरु आन्दोलित भएका छन् । 
क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत कार्यरत मजदुरहरुले स्थायी नियुक्तको माग गर्दै क्षेत्रीय कार्यालय प्रमुख पद्माकान्त झालाई ज्ञापनपत्र बुझाएका हुन् । श्रम, समय र सीपको मुल्याङ्कन गर्दै ज्यालादारी मजदुरलाई स्थायी नियुक्ती दिनुपर्ने, मजदुर र विद्युत प्राधिरकणको बीचमा यसअघि भएको सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । 
प्राधिकरण अन्तर्गतको विभिन्न क्षेत्रीय कार्यालय शाखा, उपशाखा, युनिट, नोलाइट, फ्यूज शाखा, उत्पादन, 
प्रशारण तथा ग्राहक सेवामा कार्यरत ज्यालादारी मजदुरको बिषयमा यसअघि नै पटक पटक जानकारी गराइसकेको भएपनि हालसम्म यसअघि भएका सम्झौता कार्यान्वयन नभएको संघर्ष समितिका संयोजक नवीन आलेले जानकारी दिए । सहमति कार्यान्वयनका लागि विनियम बाधक देखिएको भन्दै ज्यालादारी मजदुरहरुले तत्काल विनियम संशोधन गर्नुपर्ने माग गरेका छन् । 
प्राधिकरणको शाख जोगाउनको निम्ति ज्यालादारी मजदुरले महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै उनले तर त्यही मजदुरहरु न्यून ज्यालामा काम गर्न बाध्य रहेको बताए । ‘जोखिमपूर्ण काम गर्ने हामी ज्यालादारी मजदुर नै हौ’ संघर्ष समितिका केन्द्रीय सदस्य शिव चौलागाईंले भने, ‘यही जोखिमपूर्ण काम गर्दागर्दै धेरै मजदुरले अकालमा ज्यान गुमाएका छन् । मृतकको परिवारको अवस्था झनै दयनीय रहेको छ ।’ 
राज्यले ज्यालादारी मजदुरको मूल्याङ्कन गर्दै अवस्था हेरेर स्थायी नियुक्तीको प्रक्रिया अघि बढाउनुपर्ने चौलागाईंको माग छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत २ सय ७० जना दैनिक ज्यालादारी मजदुर रहेको उनको भनाई छ ।
Powered by Blogger.