अन्तर्राष्ट्रिय भेट्रान फुटबलमा चितवन र बङ्गलादेशको विजय सुरुवात
हेटौंडा, २ कात्तिक/रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सुरु भएको ४० बर्ष भन्दा बढी उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा साबिक विजेता ध्रुवतारा भेट्रान्स चितवनले विजययात्रा सुरु गरेको छ ।
मंगलबार बिहान भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता सानोगौचरण नाइट्स किङलाई २–० गोल अन्तरले हराउँदै चितवन विजयी भएको हो । चितवनलाई जित दिलाउने क्रममा पाँचौ मिनेटमा रबिन्द्र श्रेष्ठले पहिलो गोल गरेका हुन् भने १९ औं मिनेटमा यमबहादुर गुरुङले अग्रता दोब्बर पारेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच चितवनका पहिलो गोलकर्ता रबिन्द्र श्रेष्ठ घोषित भए । मङ्गलबारै बिहान हुने भनिएको भेट्रान ११ भारत र वीरगञ्ज युनाइटेड बीचको खेलमा भारत अनुपस्थित भएपछि वीरगञ्जले ‘वाक ओभर’ पाएको छ । दिउँसो भएको खेलमा भेट्रान्स ११ बङ्गलादेशले काठमाण्डौंको मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई २–१ गोल अन्तरले हराएको छ । एकेडेमीले सुरुवाती अग्रता लिएपनि हार टार्न भने सकेन । एकेडेमीको तर्फबाट खेलको छैठौं मिनेटमा सरोज थापाले गोल गरेका थिए ।
बङ्गलादेशको तर्फबाट आठौं मिनेटमा रहमानले गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसको एक मिनेटपछि बङ्गलादेशका लागि सर्फु रहमान मोनीले गरेको गोलको मद्दतले बङ्गलादेश विजयी भएको हो । खेलको म्यान अफ दी म्याच बङ्गलादेशका जाकिर हुसेन भए । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पशुपति उपाध्यायले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले शारीरिक र मानसिक तन्दुरुस्तीको लागि खेलकुदले मद्दत पु¥याउने धारणा राखे ।
रोटरी क्लव अफ मकवापनपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षता एवम् कार्यक्रम संयोजक शरद् कर्माचार्यको संयोजकत्वमा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, रोटरीका बर्ष सन् २०१७÷१८ का लागि निर्वाचित अध्यक्ष पुरणबहादुर जोशीलगातले पुराना खेलाडिबीचको खेलले नयाँलाई उर्जा र पुरानालाई सम्मान मिल्ने बताए ।
आज बुधबार बिहान हेटौंडाकोे महाबीर क्लव र काठमाण्डौंको मोसिस क्लवको बीचमा खेल हुनेछ भने दिउँसो आयोजक रोटरी क्लव अफ मकवानपुर र चपुर भेटूान तथा वीरगञ्ज यूथ एकेडेमी र बगर भाइ खलक पोखराको बीचमा खेल हुनेछ ।
६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उद्घाटनमा राजनीतिक दलका प्रतिनिधी, खेल संग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मीलगायतको आतिथ्यता रहेको थियो ।

