Header Ads


रोटरीको एट ए साइड फुटबलमा ३ विदेशी टिम आउने

हेटौंडा, २० असोज/रोटरी क्लब अफ मकवानपुरको आयोजनामा यही कात्तिक २ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको ४० बर्ष उमेर समूह माथिको राष्ट्रिय रोटरी कप एट ए साइड फुटबल प्रतियोगितामा ३ वटा देशले समेत सहभागिता जनाउने भएको छ । 
गत बर्षबाट सुरु भएको प्रतियोगिता यस बर्षबाट भने अन्तराष्ट्रिय हुने भएको छ । कात्तिक २ गतेबाट ६ गतेसम्म हेटौंडाको सिद्धार्थ उच्च माविको खेल मैदानमाम हुने दोस्रो रोटरी कप एट ए साइड फुटबल प्रतियोगितामा बङ्गलादेश, मलेसिया र भारतबाट पनि सहभागिता रहने आयोजक रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले जानकारी दिए । उनका अनुसार यी ३ देश र नेपालका गरी कम्तिमा १६ टिमको सहभागितामा खेल सञ्चालन हुनेछ । प्रतियोगितामा काठमाण्डौं, पोखरा, इटहरी, वीरगञ्ज, बारा, चितवन र मकवानपुरको २ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक शरद् कर्माचार्यले जानकारी दिए । स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा काम गर्दै आएको रोटरीले गतवर्षदेखि एट ए साइड फुटबल प्रतियोगिता आयोजना सुरु गरेको हो ।
‘नेपालका सबै टिमबाट पुराना राष्ट्रिय टोलीमा आबद्ध भइसकेका खेलाडीहरु सहभागी हुनेछन्’, रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानककृष्ण प्रजापतिले भने, ‘पुराना राष्ट्रिय टोलीका सदस्य अनि ३ वटा देशका खेलाडिको बीचको खेल भएकाले पनि यो प्रतियोगितालाई विशेष अनि आकर्षणको रुपमा हेर्ने विश्वास
छ ।’ उनका अनुसार प्रतियोगिता नकाउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रजापतिले जानकारी दिए । विजेता र उपविजेतालाई नगद पुरस्कारको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गर्ने भएको छ । 
प्रत्येक खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी, म्यान अफ दी सिरिज, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था रहेको क्लब सचिव कविन सांगामीको भनाई छ । प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिए ।गत बर्ष ९ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि चितवन ११ ले जितेको थियो । 
प्रतियोगिताको उद्घाटनको दिन आयोजक रोटरी क्लव अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको बीचमा मैत्रीपूर्ण खेल पनि हुनेछ । 
Powered by Blogger.