‘समाचारको आधारमा फलोअप गर्छु’
हेटौंडा,१३ मंसिर/मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा केहीदिन अघि मात्रै आएका नारायणप्रसाद दुवाडीले सञ्चार माध्यममा आएका समाचारलाई पनि आधार बनाएर अघि बढ्ने बताएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले समाचारलाई आधार बनाएर आफ्नो तर्फबाट ‘फलो–अप’ हुने बताएका हुन् । ‘यहाँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको केहीदिन मात्रै भएको छ । यहाँको वस्तुस्थिति बुझ्ने क्रममा नै रहेको छु’, उनले भने, ‘अहिले सुझाव संकलन र वस्तुस्थिति बुझ्ने क्रममा नै रहेकोले अहिल्यै म यसो गर्छु भन्ने अवस्थामा छैन ।’
कार्यक्रममा उपस्थित पत्रकारले जिल्लाका सरकारी कार्यालयबाट सहज रुपमा सूचना पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेका थिए । त्यसको जवाफ दिंदै उनले भने, ‘सूचना सञ्चारकर्मीको लागि ‘पावरफुल’ हुन्छ । सहज सूचनाको हक कार्यान्वयनको लागि मेरो तर्फबाट सक्दो प्रयास हुनेछ ।’
केही समस्याको कारण सूचनाको हक कार्यान्वयनमा समस्या रहेको प्रजिअ दुवाडीको भनाई थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लाको भौगोलिक अवस्थाको बिषयमा जानकारी लिन, सूचनाको हक कार्यान्वयनका लागि पहल गरिदिन र समयलाई ख्याल गरी विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुन सुझाव दिएका थिए ।
