Header Ads


शीतले भिजेको ओछ्यानमा कसरी निदाउने ?

केशव समर्पण
हेटौंडा, १० मंसिर/मकवानपुरको सिमभन्ज्याङ नजिकै रहेको गोलमोड डाँडामा गर्मीयाममा चल्ने सिरेटोकोसमेत सामना गर्न गाह्रो पर्छ । तर, त्यही ठाउँमा जस्ताको छानोमुनी मंसिरे जाडो काट्दै आएका भुकम्पपीडित परिवारको व्यथा भनिसाध्य छैन । 
भुकम्पले गाउँ नै भासिने डर भएपछि विस्थापित भएका भुकम्पपीडित तुसारोको सामना गरिरहेका छन् । समुद्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाईमा रहेको मकवानपुर नामटार–१ गोलमोडमा ४४ परिवार जस्ताको टहरोमुनी कष्टकर रात बिताउन बाध्य छन् । बस्दै आएको घर त भुकम्पले भत्कायो नै तर, जमिनमा धाँजा फाटेर पहिरोको डर भएपछि उनीहरु गोलमोडमा त्रिपाल टाँगेर बस्न सुरु गरेका थिए । 
नामटार–१ झिरघारी, बतासे र कटुसघारीका विस्थापित परिवार २० महिनादेखि गोलमोडमा जस्ताको टहरो हालेर बस्दै आएका छन् । अघिल्लो जाडो मुस्किलले कटाएका विस्थापितलाई अहिले एउटै चिन्ता छ, यो तुसारोमुनी सुतेर कसरी रात कटाउने । त्रिपालमुनी बस्दै आएका विस्थापित परिवारले विभिन्न संघसंस्थाको सहयोगमा जस्ताको टहरो त बनाएका छन् तर, जाडोमा जस्ताबाट चुहिने शीतले ओच्छ्यान भिजाउँदा राम्ररी निदाउन सकेका छैनन् । ‘रात प¥यो कि चिन्ता लाग्छ,रातभर आनन्दले निदाउन पनि सकिन्न,’भुकम्पपीडित तथा विस्थापित व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय सीताराम मोक्तानले भने–‘शीतले भिजेको ओच्छ्यानमा कसरी निदाउने ?’ बालबच्चा, वृद्धवृद्धा र गर्भवतीलाई जाडो काट्न झनै मुस्किल परेको मोक्तानले सुनाए ।
सरकारले विस्थापित परिवारको विषयमा कुनै चासो नदिँदा आफूहरु तुषारोले भिजेको ओछ्यान माथि 
सुत्नुपरेको स्थानीय सुन्तलीमाया थिङको गुनासो छ । ‘गर्मी महिना त जसोतसो काटियो, अब यस्तो कति जाडो यसरी कठ्याङ्ग्रिएर काट्नुपर्ने हो’,–थिङले निराशावादी स्वरमा भनिन्, ‘आफ्नै पैसाले पक्की घर बनाउँ भने पनि सबै जग्गा भासिएको छ सीसीडिएन, युनिसेफ, प्लान नेपाललगायतका गैरसरकारी संस्थाको सहयोगमा विस्थापित बस्तीमा सोलार बत्ती, खानेपानी, शौचालयलगायतको सुविधा प्रदान गरे पनि सरकारले आफूहरुको स्थायी आवासको बारेमा केही नसोचेको व्यवस्थापन समितिका अध्यक्ष माक्तानले दुखेसो गरे ।
भुकम्पले धाँजा फाटेको जमिनमा घर बनाउन नमिल्ने भएपछि पीडित परिवारले घर निर्माणका लागि सम्झौतासमेत गरेका छैनन् । ४४ परिवार मध्ये करिब आधा दर्जन परिवारले अन्यत्र जमिन किनेर भए पनि घर बनाउने सोचले पुननिर्माणका लागि सम्झौता गरेको अध्यक्ष मोक्तानले बताए । ‘सरकारले दिने पैसाले जग्गा किन्नु कि घर बनाउनु’, उनले भने–‘विस्थापित परिवारका विषयमा सरकारले छुट्टै निर्णय गरी हामीलाई व्यवस्थापन गर्नुपर्छ ।’ विस्थापित परिवारलाई स्थायी व्यवस्थापनको लागि जिल्ला विकास समिति, स्थानीय राजनीतिक दलका नेता तथा सरकारलाईसमेत झक्झक्याउँदा हालसम्म कुनै निर्णय नभएकोमा स्थानीय आक्रोशित छन् । 
भुकम्पपछि भुगर्वविद्को टोलीले झिरघारीमा एक पटक अनुगमन गरे पनि त्यो स्थानमा बस्न मिल्ने नमिल्नेबारे केही नबोल्दा स्थानीय अन्योलमा छन् । उनीहरु अहिले भासिएको झिरघारीको जमिनमा खेती गर्ने तथा बेलुका सुत्ने बेला गोलमोडको टहरो फर्कने गरेका छन् । बारीमा उत्पादन भएको अन्न राख्ने ठाउँ नभएकाले 
एमआरसी नेपाल नामक संस्थाको पहलमा झिरघारीमा करिब २० वटा अस्थायी टहरो बनिरहेको छ । तर, जमिन भासिएको ठाउँमा घर बनाएर बस्ने आँट भने गर्न सकिरहेका छैनन् । बतासे र कटुसघारीमा पनि पहिरोको त्रासका कारण पुरानो बस्तीमा फर्कन नसकिरहेको स्थानीय उर्मिला मोक्तानले बताइन् ।
Powered by Blogger.