खेलकुद महोत्सवमा मंगलबारसम्म ५ करोडको कारोबार
हेटौंडा, ७ मंसिर/हेटौंडामा सञ्चालन भैरहेको राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ को पाँचौ दिनमा करिब पाँच करोड रुपियाँ बराबरको कारोबार भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा सञ्चालन गरेको राष्टिूय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत् मंगलबारसम्ममा करिब पाँच करोड रुपियाँको कारोबार भएको र करिब एकलाख जनाले मेलाको अवलोकन गरिएको आयोजकले जानकारी दिएको
हो ।
नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सव मंगलबारमात्र करिब १५ हजार जनाले अवलोकन गरेका छन् । मेलाबाट १० वटा सुमो तथा सानो अटोका साधनहरु बुकिङ भएको, जाडो महिनामा प्रयोग हुने सामग्री, स्पोर्टस् सामान, भाडाकुँडा तथा बाल उद्यानमा बढी कारोबार भएको बताइएको छ । मेलामा सहभागी हुनेहरुको संख्या बढिरहेको बताउँदै आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले सोचेअनुसारकै दर्शकहरु मेलामा सहभागी भइरहेको बताए । मङ्सिर १३ गते सोमबारसम्म सञ्चालन हुने मेलामा करिब १० करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
सबै स्टल सञ्चालकहरु खुशी देखिएको र आयोजक पनि व्यवस्थापनमा केन्द्रीत रहेको बताउँदै प्रतिष्ठानका महासचिव सविन न्यौपानेले यो महोत्सव खेलकुद, व्यापार र मनोरञ्जनको संगम भएकाले पनि महोत्सवमा आउनेहरुको संख्या व्यापक रहेको बताए । मंगलबार चर्चित लोक गायिका कोमल वली, रितु कँडेल, लोक गायक मदन बिष्ट, मुक्तिनाथ उप्रेती, गायक बाँदल प्रसाईं, आरम्भ व्याण्ड, हाँस्यकलाकार गणेश केसी तथा स्थानीय कलाकारहरुले मनोरञ्नात्मक कोसेली प्रस्तुत गरेका थिए । बुधबार गायक धिरज राई, कमल खत्री, विश्व आरके, ओम माने पेमे ब्याण्ड र बलराम जादुगरले महोत्सवमा आउने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । महोत्सवमा जिल्लामै पहिलोपटक बिहीबार र शुक्रबार कुस्ती प्रतियोगिता आयोजना हँुदैछ ।

