Header Ads


चिरञ्जिवी ढकालको सहयोगमा नाजुक अवस्थाको काठेपुल निर्माण हु“दै

हेटौंडा, ७ मंसिर/मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाविस हुँदै करिब १० वटा गाविस जानको लागि प्रयोग गरिने पहरामा रहेको काठको कच्ची पुल पुनर्निर्माणमा मकवानपुरको हेटौंडा घरभै हाल बेलायत बस्दै आएका चिरञ्जिवी ढकालले आर्थिक सहयोग गरेका छन् । 
लामो समयदेखि धरासायी बनेको उक्त पुल निर्माणमा नेपाली काँग्रेस निकटको युवा दस्ता नेपाल तरुण दल राक्सिराङले पुनर्निर्माण गर्ने अभियान थालनी गरेको समाचार प्रशारण/प्रशारण भएपछि उनले सहयोग गर्ने इच्छा देखाएका हुन् । प्रदेश दैनिकसहित अन्य सञ्चार माध्यमबाट काठे पुलको अवस्था र निर्माणमा तरुण दल राक्सिराङले देखाएको तदारुकताको समाचार प्रशारण/प्रकाशन भएपछि हाँडीखोला घर भै हाल साउदीमा रहेका अखिल पुडासैनीले समाचारको बिषयमा ढकाललाई जानकारी गराएका थिए । 
पुडासैनीको जानकारी र समाचारलाई आधार मान्दै ढकालले आफ्नो स्वर्गीय आमाको नाममा पुल निर्माण गर्ने वचन दिंदैँ रकम समेत पठाएका छन् । काठको पुल निर्माणको लागि ढकालले पत्रकार गणेशदर्पण अधिकारीको खातामा रकम समेत पठाइसकेका छन् । ‘एउटा काठे पुलको दुरावस्थाका कारण मकवानपुरको पश्चिमी क्षेत्रको करिब १० वटा गाविसका बासिन्दालाई अप्ठेरो परेको भन्ने समाचार आएपछि मैले सहयोगको इच्छा देखाएको हुँ’, ढकालले भने, ‘तरुण दलको जोश र जाँगरलाई सम्मान गर्दै मैले सहयोग गर्दा मकवानपुरको बिकट गाविसका मानिसलाई राहत महशुष हुन्छ भने किन नगर्ने ? यही सम्झेर समाचार प्रकाशन प्रशारण गर्ने पत्रकारकै खातामा रकम पठाएको हुँ ।’ ढकालले आफ्नो स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा पुल निर्माणमा सहयोग गरेको बताए । ढकालले हाँडीखोला स्वास्थ्यचौकीलाई सहयोग गर्न लागिएको एम्बुलेन्स अभियानकोे अगुवाई गरिरहेका छन् भने हाँडीखोला स्वास्थ्यचौकीलाई यसअघि प्रदान गरिएको भिडियो एक्सरे मेसिनको लागि समेत नगद आर्थिक सहयोग गरेका थिए । मकवानपुको क्षेत्र नम्बर ४ मा रहेका शिक्षा, स्वास्थ्यलगायतको समस्यामा आफ्नो तर्फबाट सक्दो सहयोग हुने सहयोगी ढकालले बताए । यता तरुण दल राक्सिराङका अध्यक्ष अशोक लामाले ढकालबाट प्राप्त रकमले धमाधम पुल निर्माणको काम भैरहेको बताए । ‘हामी प्रत्येक व्यक्ति तथा संघसंस्था संग थोरै थोरै रकम उठाएर भएपनि यो पुल पुनर्निर्माण गर्ने अभियानमा रहेका थियौं’, लामाले भने, ‘हाम्रो यस अभियानलाई साथ दिंदै चिरञ्जिवी ढकालले आफ्नो आमाको नाममा पुल निर्माण गरिदिने हुनुभएको छ, हामी उहाँको सहयोगलाई स्वीकार्दै धमाधम पुल निर्माणको काम अघि बढाइरहेका छौँ ।’ दैनिक ४ सय देखि ५ सय मानिस आवातजावत गर्ने उक्त काठको कच्ची पुल भाँचिन लागेको अवस्थामा तरुण दल राक्सिराङले पुनर्निर्माण अभियान थालनी गरेको थियो । 
मकवानपुर ४ नम्बर क्षेत्रबाट निर्वाचित सांसद राजाराम स्याङ्तानलाई पटक पटक पुल मर्मतका लागि आग्रह गर्दा पनि चासो नदिएको स्मरण गर्दै तरुण अध्यक्ष लामाले भने, ‘गाउँको समस्या यहाँका नेताबाट कहाँ समाधान हुँदो रहेछ र ? हाम्रो आग्रहलाई सांसद्ले अस्वीकार गरेपनि सहयोगी व्यक्ति चिरञ्जिवी ढकाल पाएर हामी निकै हर्षित छौं ।’
Powered by Blogger.