‘सिलिन्डर बम’को आतंक’
मकवानपुरमा एक महिनाको अवधिमा दुई स्थानमा ग्याँस सिलिन्डर पड्किएर जनधनको क्षति हुन पुग्यो । करिब एक महिनाअघि नापी कार्यालयमा साहाराको ग्याँस सिलिन्डर पड्किएर ५० जनाभन्द्या बढी घाइते भएको घटना सेलाउन नपाउँदै सोमबार पनि हेटौंडाको १० स्थित एक होटलमा साहाराकै ग्यास सिलिन्डर पड्कियो । यस्ता घटना दोहोरिरहनुले आजकल जनताको घरमा सिलिन्डरको नाममा ‘बम’ भित्रिइरहेको भान गराउँछ । यो घटना सामान्य होइन र यसलाई सामान्य रूपमा लिइने कोसिस गर्नु पनि हुन्न । यस्तो घटना हुनुमा को दोषी हुन् बेलैमा छानबिन हुनु जरुरी छ । सरकार र निजी दुवै क्षेत्रको भद्रगोले चरित्रको मारमा जनता छन् । विगतमा पनि यस्ता घटना नभएका होइनन् । केही समयअघि मात्र काठमाडौंको कालीमाटी र ललितपुरमा भएका घटनामा केहीले ज्यान गुमाइसकेका छन् भने धेरै धनजनको क्षति हुन पुगेको छ ।
यस्ता घटनामा ग्यास व्यवसायी प्रमुख दोषी देखिन्छ । तत्कालीन योजनाअनुसार सम्बन्धित व्यवसायीले पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । चाँडोभन्दा चाँडो तोकिएको क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ । यसका साथै सरकारले दीर्घकालीन हिसाबले नीतिगत, कानुनी, संरचनागत र प्राविधिक रूपमा समस्याको समाधान गर्न कार्यदल निर्माण गरी अघि बढ्नु जरुरी देखिन्छ । सरकारले अब घरघरमा गइरहेको बमलाई रोक्नु जरुरी छ । सिलिन्डरका नाममा घरमा बम जाने अवस्था आउन दिनु हुँदैन । नेपालमा सिलिन्डर निर्माण गर्ने कम्पनी तीनवटा मात्र छन् । तिनीहरूले बनाएका सिलिन्डरको गुणस्तर परीक्षण गर्ने गुणस्तर तथा नापतौल विभागले हो । सिलिन्डर कसरी बनिरहेको छ भनेर हेर्ने विभागले गम्भीरताका साथ अनुगमन गर्नुपर्ने जरुरी देखिन्छ ।
आमउपभोक्ताले सिलिन्डर प्रयोग गर्न नजान्नाले पनि दुर्घटना निम्तिन सक्छ । ग्यास सिलिन्डरको सुरक्षा गर्ने सवालमा एक–अर्कालाई दोष दिएर पन्छिन मिल्दैन । यसमा सबै क्षेत्रसँगै आयल निगम पनि उत्तिकै जिम्मेवार छ । उद्योग, उपभोक्ता र विक्रेताको पनि उत्तिकै जिम्मेवारी छ । सिलिन्डरको ढुवानी, प्रयोगका विषयमा उद्योग, विक्रेता, उपभोक्ता सबैमा सचेतना हुनुप¥यो । सरकारको अनुगमनको पाटो पनि कमजोर छ । कतिपय उद्योगले ग्यास भर्नुअघि सिलिन्डरको सुरक्षा जाँच गर्ने गरे नगरेको बारेमा कसैको नजर पुगेको छैन । नाकाबन्दीका वेला ग्यास कन्ट्रोल रुम राख्ने, उद्योग अनुगमन गर्ने सिलसिलमा उद्योगले के कस्ता सुरक्षाका मापदण्ड राखेका छन् भनेर अनुगमन गर्दा पानी नराखेको, कतिपय उद्योगमा हाइड्रोस्टेटिक परीक्षण गर्ने साधनहरू नभएको पनि पाइएको थियो । सरकारले कुनै पनि ग्यास सुरक्षासम्बन्धी सूचना जारी गरेको आजसम्म जानकारी पाएको छैन । ग्यास सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ल्याउनुपर्ने जरुरी छ । ग्यास प्रयोग गर्दा कति सुरक्षित हुनुपर्छ भन्ने सूचना कतै छैन । भएको सम्झौता पनि कार्यान्वयन भएको छैन । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ । दुर्घटनामा परेकाको उपचार तथा क्षतिपूर्ति दिलाउन सबै पक्षले जोड दिनु जरुरी छ ।
