चुरियामाईबासी भन्छन्, ‘नगरबासीको आभाष हुनुप¥यो’
हेटौंडा, २९ कात्तिक/हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७३÷०७४ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार चुरियामाइस्थित संयुक्त वडा कार्यालयमा सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले हेटौंडा उपमहानगरपालिकामा गाभिएर पनि उपमहानगरबासीको आभाष नभएको गुनासो गरेका छन् । सडक, बत्ति, खानेपानीलगायतको समस्या गाविसबासी हुँदा झैं जस्ताको तस्तै रहेको भन्दै चुरियामाई बासिन्दाले यस तर्फ ध्यान दिन सरोकारवाला निकायका प्रतिनिधीलाई अनुरोध गरेका छन् । उपमहानगरको एउटा अंग भएर पनि बजेट छुट्टयाउने क्रममा यस क्षेत्रको विकासका लागि उल्लेख्य बजेट नछुट्टयाइएको उनीहरुको गुनासो थियो ।
कार्यक्रममा उठेका जिज्ञासा एवम् समस्याको बिषयमा हेटौंडा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम लगायतका दलका प्रतिनिधीले जवाफ दिएका थिए । कार्यक्रमका वक्ताहरुले नगरपालिका वा उपमहानगरपालिका हुँदैमा एकैपटकमा विकासले फड्को मार्न नसक्ने भन्दै धैर्य हुन अनुरोध गरेका थिए ।
स्थानीयको आवश्यकताको आधारमा उपमहानगरपालिका कार्यालयले बजेट विनियोजन गर्दै आवश्यक कार्यक्रम समेत दिइरहेको उल्लेख गर्दैैनिमित्त कार्यकारी अधिकृत उपाध्यायले यसको लागि प्रक्रियामा आउनुपर्ने सुझाए । सार्वजनिक सुनुवाइमा प्रथम चौमासिकको आयव्यय विवरण प्रस्तुत गरिएको थियो भने यस आर्थिक बर्षमा चुरियामाईमा हुने कार्यक्रम र विकास निर्माणको कार्यको बिषयमा समेत जानकारी गराइएको थियो ।

