Header Ads


‘हेटौंडा गट ट्यालेण्ट’ छनौट आजबाट

हेटौंडा, २९ कात्तिक/राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको ‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फ ३० र नृत्य तर्फ १७ जनाले सहभागिता जनाउने भएका छन् । 
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा यही मंसिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा प्रतिभा प्रष्फुटनको उद्देश्यका साथ ‘हेटौंडा गट ट्यालेण्ट’ हुँदैछ । गट ट्यालेण्ट संयोजक विशाल घोषका अनुसार नामावली दर्ता गराउने अन्तिम दिन सोमबार सम्ममा गायन र नृत्य गरी ४७ जनाले सहभागिताको लागि नाम टिपाएका हुन् । नाम दर्ता गराएका मध्ये गायन तर्फको पहिलो चरणको छनौट आज मङ्गलबार र नृत्य तर्फको छनौट भोली १ गते बुधबार हुनेछ । ‘हामीले पेण्टिङको पनि प्रतिस्पर्धा गराउने भनेका थियौं, २ जनाले मात्र नाम दर्ता गराएका छन्’, संयोजक घोषले भने, ‘उनीहरु २ जनालाई कुनै एउटा विषयमा चित्र बनाउन दिनेछौं र उनीहरुको चित्र प्रतिष्ठानमा राख्नेछौँ ।’ पहिलो चरणको छनौटबाट गायन तर्फ १५ र नृत्य तर्फ १० जनाको छानिने छन् । त्यसपश्चात दुवै विधाका प्रतियोगीलाई ६० प्रतिशत निर्णायकको निर्णयको आधारमा, बाँकी ४० प्रतिशतमा फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गरिने बताइएको छ । दुवै विधाको छनौट एक÷एक दिन बिराएर गरिने आयोजकको तयारी रहेको छ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक÷एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधी दिइने संयोजक घोषले जानकारी दिए । गट ट्यालेण्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ ।
 ‘आफूसंग भएको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नेले हेटौंडा गट ट्यालेन्ट जित्नेछ’, संयोजक विशाल घोषले भने,‘यो गायन वा नृत्य जुनसुकै क्षेत्रको प्रतिभा पनि हुन सक्छ ।’ 
गायन तथा नृत्य दुवै बिधामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ः नगद ५ हजार, ३ हजार र २ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

कुन कुन प्रतियोगिता कहिले ?

हेटौंडा/गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका खेलकर्मी एवम् सञ्चारकर्मीको विकासको निम्ति कार्य गर्ने उद्देश्यका साथ यही मंसिर २ गतेबाट हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ वटा खेलका गतिविधी हुँदैछ । 
खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक सबिन भट्टाचार्यका अनुसार २ गते महोत्सवको उद्घाटनको दिन म्याराथन हुनेछ । यस्तै ३ गते फूल कन्ट्याक्ट कराते, ५ र ६ गते तेक्वान्दो, ७ गते कुस्ती, ८ गते शारीरिक सुगठन संगठन मकवानपुरको बडी बिल्डिङ शो र १० गते कबड्डी हुनेछ । यस्तै १२ गते सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण भलिबल खेल हुने उनले जानकारी दिए । 
‘महोत्सवमा दिनहुँजसो फरक फरक खेलको मज्जा लिन पाइनेछ’, संयोजक भट्टाचार्यले भने, ‘नेपालमै पहिलो पटक नयाँ किसिमको महोत्सवको आयोजना गरेका छौँ । सहभागी भै हौसला बढाउनको निम्ति सम्पूर्णमा अनुरोध समेत गर्न चाहन्छौं ।’ 
Powered by Blogger.