राक्सिराङमा पनि सुरु भो अनुदान सम्झौता
![]() |
| अनुदान सम्झौताको लागि लाइनबद्व राक्सिराङबासी । तस्वीर: अशोक कसम |
हेटौंडा, २९ कात्तिक/स्थानीय राजतीतिक दलको विवादका कारण भूकम्प पीडितसंग सम्झौता हुन नसकेको मकवानपुरको एक मात्र गाविस राक्सिराङमा पनि सम्झौता सुरु भएको छ ।
सोमबारबाट राक्सिराङमा सम्झौता सुरु भएको हो । पहिलो दिन ५६ जना भूकम्प पीडितसंग सम्झौता भएको जानकारीमा आएको छ । भूकम्प पीडितको बिषयमा आएको गुनासोलाई सम्बोधन गर्दै जाने र सम्झैतालाई पनि अघि बढाउने सहमति भएपछि सोमबारबाट अनुदान सम्झौता भएको जिल्ला विकास समिति मकवानपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए ।
‘अन्य गाविसमा अनुदान सम्झौताको काम सकिनै लाग्दा राक्सिराङमा सुरु हुनै सकिरहेको थिएन’, न्यौपानेले भने, ‘अन्यत्र सबै स्थानमा सम्झौता चलिरहेको सन्दर्भमा राक्सिराङको समस्या समाधानको लागि पहल गर्ने र अनुदान सम्झौतालाई पनि अघि बढाउने निर्णय भएको र सोही अनुरुप कार्य सुरु भएको हो । ’ मकवानपुरका करिब ८० प्रतिशत भूकम्प पीडित जनतासंग अनुदान सम्झौता भएपनि २० प्रतिशतमा भने समस्या रहेको उनको भनाई छ । ‘ऐलानी जग्गा भएका, बस्ती स्थानान्तारण गर्नुपर्ने, विदेश गएकाहरु लगायतको अझै समस्या छ’, न्यौपानेले थपे, ‘यस्ता बिषयमा नीतिगत समस्या रहेका छन् । हामीले चाहेर मात्रै समस्या समाधान हुन सक्दैन । यसको लागि पुनर्निर्माण प्राधिकरणले नै नीति बनाउनु आवश्यक छ ।’
अन्यत्र अनुदान सम्झौता सकिने बेला भैसक्दा पनि राक्सिराङमा राजनीतिक दलको विवादका कारण हुन नसकेको भन्दै स्थानीयले यसको बिरोध गरिरहेका थिए । राजनीतिक दलका नेताहरु भने एक अर्कामा आरोपप्रत्यारोप लगाउनमा नै व्यस्त रहेका थिए । राक्सिराङमा ३ सय ४० जना भूकम्प पीडित रहेकोमा १ सय २३ जनाको गुनासो दर्ता गराएका छन् । मकवानपुरमा करिब ६ हजार जना भूकम्पपीडित ऐलानी जग्गा भएकाहरु रहेको बताइएको छ ।
वस्ती स्थानान्तरण गर्नुपर्ने समस्या भएको स्थानमा प्राधिकरणले प्राविधिक खटाउने भनेपनि हालसम्म कर्मचारी नखटाएकोले समस्या भैरहेको छ ।

