मकवानपुरका १७ हजार भूकम्प पीडितसंग सम्झौता
हेटौंडा, ३० कात्तिक/मकवानपुरका १७ हजार ६ सय ६१ घरधुरी भूकम्प पीडितसंग सरकारले दिने प्रथम किस्ताको अनुदान रकम वितरण गरिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता कार्यक्रम अन्तर्गत मङ्गलबारसम्ममा १७ हजार ६ सय ६१ घरधुरीसंग सम्झौता गरिएको उल्लेख छ । मन्त्रालयका सूचना अधिकारी मदन कोइरालाका अनुसार मकवानपुरमा ३० हजार २ सय ३८ लाभग्राही सङ्ख्या रहेको छ । यहाँ २६ हजार ९ सय ९ वटा गुनासो दर्ता भएको छ ।
मकवानपुरको राक्सिराङमा सोमबारबाट मात्रै अनुदान सम्झौता सुरु भएको छ । मन्त्रालयका तथ्याङ्क अनुसार भूकम्प प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं, ललितपुर र भक्तपुरमा अनुदान सम्झौता नै सुरु हुन सकेको छैन । स्थानीय राजनीतिक दलको विवादका कारण अनुदान सम्झौता सुरु हुन नसकेको मकवानपुरको राक्सिराङमा सोमबारबाट अनुदान सम्झौता सुरु भएसंगै यहाँका ३५ वटै गाविसमा अनुदान सम्झौता भैरहेको जिल्ला विकास समिति मकवानपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए ।
‘यो संगै अब केही दिनमा नै मकवानपुरको करिब ८५ प्रतिशत अनुदानको काम सकिने छ’, उनले भने, ‘ऐलानी जग्गा भएका, बस्ती स्थानान्तारण गर्नुपर्ने, विदेश गएकाहरु लगायतको सम्झौतामा समस्या रहेको छ ।’

