Header Ads


नेपालले जित्यो सोलिडारिटी कपको उपाधी

हेटौंडा, ३० कात्तिक/मलेसियामा पहिलो पटक आयोजना भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्दै नेपालले अर्को एउटा इतिहास बनाएको छ । 
कुचिङस्थित सरावाक रंगशालामा भएको फाइनल खेलमा परिचित प्रतिद्वन्द्वी मकाउलाई १–० ले स्तब्ध पार्दै इतिहास रचेको हो । एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको कुनैपनि औपचारिक प्रतियोगिताको उपाधि जितेको नेपालले यो पहिलो पटक हो । नेपाललाई उपाधि दिलाउन सुजल श्रेष्ठले ३० औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोलिडारिटी कपको उपाधि दिलाउन उनी नै नायक बने । 
सुजलको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा टिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । मकाउविरुद्ध सुजलले गरेको नेपालका लागि १६ औं गोल हो । पानी जमेको मैदानमा नेपालले खेल नियन्त्रणमा राखेर पनि थप गोल भने गर्न सकेन । सुजलको गोलअघि नै नेपालले खाता गोल्ने अवसर पाएपनि सफल भएन । १५ औं मिनेटमा भरतकौ प्रहार पोस्ट नजिकबाट बाहिरियो भने २८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सको बाहिरबाट गरेको शसक्त प्रहारलाई विपक्षी गोलपिकरले पन्च गर्दै जोगाएका थिए । ६० औं मिनेटमा विमल घर्तीमगरको फ्रिकिकमा भरतको हेड पोस्ट टाढाबाट बाहिरियो भने ६८ औं मिनेटमा विमलको प्रहार पोस्ट नजिकबाट गयो । त्यस्तै ७३ औं मिनेटमा विमलको फितलो प्रहारलाई विपक्षी गोलकिपरले रोके ।
यो जितसँगै मकाउसँगको जितको सिलसिलाले निरन्तरता पाएको छ । मकाउविरुद्ध नेपाल अपराजित रहेको यो चौथो खेल हो । अहिले सम्मका ६ खेलमा नेपालले ४ जित, १ बराबर र १ खेलमा मात्र हार बेहोरेको छ । १४ महिनाको बीचमा नेपालले ४ वटा प्रतियोगिता जितेको छ । गत बर्ष भदौमा साफ यू १९ च्याम्पियन बनेको नेपालले फागुनमा दक्षिण एसियाली खेलकुद (साग) को यू २३ मा स्वर्ण पदक जितेको थियो । त्यसअघि माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप अन्तर्राष्टिूय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । नेपालले अहिले सम्म दक्षिण एसियाली खेलकुद (साफ) मा दुई पटक स्वर्ण जितेको छ । 
पछिल्लो पटक नेपालले साफ सन् १९९३ मा जितेको थियो । क्षेत्रीय स्तरका सबै खाले प्रतियोगिता जितेको नेपालको सिनियर टोलीको यो अहिले सम्मकै ठूलो सफलता हो । यो सोलिडारिटी कप विश्वकप २०१८ को छनोट र एसियन कप २०१९ को छनोट चरण अन्तर्गत पहिलो र दोस्रो चरणबाट बाहिरिने टोलीका लागि एएफसीले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।
Powered by Blogger.