मउवा संघद्वारा नयाँ एलडीओको स्वागत
हेटौंडा, २२ कात्तिक/मकवानपुरमा भर्खरै सरुवा भएर आएका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
सोमबार संघमा एक कार्यक्रमको आयोजना गर्दै मैनालीलाई स्वागत गरेको हो । लक्ष्मण बिक्रम थापाको सरुवा पछि मैनाली मकवानपुरका स्थानीय विकास अधिकारीका रुपमा एकसाता अघि आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार स्थानीय विकास अधिकारीलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा स्थानीय विकास अधिकारी मैनालीले उद्योग वाणिज्य संघ संग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संघका अध्यक्ष न्यौपानेले जिल्लाको व्यावसायिक गतिविधिको बारेमा जानकारी गराएका थिए । संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले हेटौंडा बजारको मध्य भागबाट गएको राजमार्गको विषयमा व्यावसायिक हितमा निर्णय गर्न आग्रह गरे । संघका सल्लाहकार प्रदीप कोइरालाले स्थानीय क्षेत्र पुनर्निर्माणको कार्य कठिन भएकोले व्यावसायी, राजनैतिक दल, स्थानीय निकायको सहकार्यमा जोड दिएका थिए ।
