Header Ads


एकदिन अगावै सुरु भयो योमरी पुन्ही

हेटौंडा, २८ मंसिर/नेवार समुदायको योमरी पून्ही पर्व मंगलवार भए पनि मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–१४ बज्रवाराहीका बलामी समुदायले भने सोमबारदेखि नै पर्व मनाउन सुरु गरेका छन् ।
बज्रवाराहीका लिलाखेल, इकुन्डोल र पापुङ गाउमा बसोबास गर्ने बलामी समुदायमा सोमबारदेखि ४ दिनसम्म यो पर्व मनाइन्छ । गुठी पुर्णी र थिला पुर्णीको नामले समेत चिनिने यो पर्वमा विशेष प्रकारको रोटी ‘योमरी’ बनाई खाने चलन छ ।
नेवार समुदायमा मंगलबार एक दिन मात्रै योमरी पर्व मनाउने गरिए पनि बज्रवाराहीका बलामी समुदायमा ४ दिन सम्म यो पर्व मनाउने चलन छ । विगतमा ५ दिनसम्म मनाउ“दै आएको यो पर्व गत वर्षदेखि ४ दिन मनाउन थालिएको हो । अन्य समुदायमा योमरी पर्वको रुपमा मनाए पनि बलामी समुदायमा गुठीपुन्ही पर्वका रुपमा यो पर्व मनाउने गरिन्छ । सोमबार साँझ गुठीघरमा गएर सामुहिक रुपमा भोज खाई योमरी पुन्ही पर्व मनाउन सुरु गरिन्छ । घरघरमा विभिन्न देव देवताको पूजा गर्नुका देउसी खेलेर योमरी माग्ने चलन समेत रहेको छ । गुठीयारहरुबीच हरेक वर्ष पालैपालो गुठी संचालन गर्ने गरिन्छ । गुठीमा थकाली, नाय, भली भनेर मुख्य व्यक्तिहरु तोकिएको हुन्छ । गुठीभित्र तोकिएको नियम नमान्ने गुठीयारलाई दण्ड जरिवाना समेत गरिन्छ ।
समाजमा अनैतिक र विकृती फैलाउनेलाई गुठीका प्रमुख व्यक्तिहरुले गल्तीको प्रकृति अनुसार कारवाही गर्ने गरिन्छ । विशेषतः सामाजिक संस्कारको सुधार तथा जगेर्नाका लागि छरछिमेकहरु एकजुट भई गुठी पर्वका रुपमा मनाउने गरिएको लिलाखेलका ज्येष्ठ नागरिक भेखलाल बलामीले बताए । गुठीका बेला बाटो मर्मत तथा खानेपानीका स्रोतहरु समेत सफा गर्ने चलन रहेको बलामीले जानकारी दिए । यो पर्वको अर्काे महत्वपूर्ण विशेषता भनेको पहिलो दिन पूजा गरेर बालेको खोँसी अर्थात जरासहितको ठूलो काठ अन्तिमदिन सम्म निभाउनु हुन्न भन्ने मान्यता छ । पहिलो र दोश्रो दिन गुठीमै बास बस्ने भए पनि तेश्रो दिन बेलुका घरमा सुत्न आउने चलन छ । चौथों दिनमा बिहान समयबजी भोज खाईसकेपछि मात्रै गुठी पर्व सम्पन्न हुन्छ । लिलाखेलमा तीन वटा र इकुन्डोलमा एउटासहित चार वटा गुठी संचालनमा छन् ।
Powered by Blogger.