श्रमिकमा पुन : रिजालको नेतृत्व
हेटौंडा, १९ मंसिर/हेटौंडा–४ कर्रामा रहेको श्रमिक माविको व्यवस्थापन समिति अध्यक्षमा पुनः नरेन्द्रलाल रिजाल चयन भएका छन् ।
आइतबार भएको अभिभावक भेलाले रिजालको अध्यक्षतामा नया“ कार्य समिति चयन गरेको हो । १ वर्षअघि मात्रै व्यवस्थापन समितिको अध्यक्ष भएका रिजाल नया“ व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएपछि आइतबार भएको अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा स्रोतव्यक्ति किरण आचार्यको विशेष आतिथ्यतामा भएको अभिभावक भेलाले रिजालसहित शंकर गोपाल खड्गी, रीता दाहाल र चण्डिका कार्कीलाई सदस्यमा चयन गरेको छ ।
राजनीतिक दलका प्रतिनिधी, सामाजिक अगुवा, स्थानीय संघ, संस्थाका प्रतिनिधिको समेत उपस्थितिमा भएको भेलाले ४ सदस्य सर्वसम्मत चयन गरेपछि पूर्वशिक्षक चन्द्रकान्ता श्रेष्ठ र भीमप्रसाद अर्याललाई सदस्यमा मनोनित गरेको थियो । २ जना सदस्य मनोनित गरिसकेपछि बसेको बैठकले रिजाललाई आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
अभिभावक भेलाको उद्घाटन सत्रमा अध्यक्ष रिजालले विद्यालयको एक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष रिजालले विद्यालयको भौतिक विकास, पूर्वविद्यार्थीको सहयोग, शिक्षा कार्यालय र मन्त्रालयबाट प्राप्त सहयोग, स्थानीय संघ, संस्थाको सहयोग, अभिभावकको चासो र विद्यार्थी संख्यामा भइरहेको वृद्धिका विषयमा जानकारी गराएका थिए । विद्यालय निरीक्षक देवनारायण चौधरीले नया“ व्यवस्थाअनुसार सौहाद्र्ध रुपमा नेतृत्व चयन गर्दै भावी दिनमा विद्यालयको भौतिक विकास, शैक्षिक गुणस्तर वृद्धि गर्दै बालबालिकालाई सरकारी विद्यालयमै गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर सिर्जना गराउन अभिभावको सक्रियता जरुरी हुने बताए ।

