Header Ads


हेटौंडा गोल्डकपलाई गोर्खा ब्रुअरीजको साथ

हेटौंडा, ५ पुस/मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको खेलकुद प्रतिष्ठानको आयोजनामा यही पुष १४ गतेबाट गर्ने गरी तयारी थालिएको दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितालाई गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने भएको छ ।
पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने यस बर्षको हेटौंडा गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीजले प्रायोजकको रुपमा साथ दिने गरी मङ्गलबार सम्झौता भएको छ । सम्झौता अनुसार गोर्खा ब्रुअरीजको टुवोर्ग मुख्य प्रायोजक र रेडबुल सहप्रायोजक रहने छ । सम्झौता पत्रमा प्रतिष्ठानका अध्यक्ष भेष खड्की, द्वितीय उपाध्यक्ष विशाल घोष तथा कम्पनीको तर्फबाट विक्री निर्देशक बैभवब शर्मा र ब्रान्ड म्यानेजर सुवोध शर्माले हस्ताक्षर गरेका छन् । अन्य व्यावसायिक संस्थाहरुसंग समेत सहप्रायोजनका लागि हस्ताक्षरको प्रक्रियामा रहेको जानकारी दिंदै प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले पहिलो संस्करणभन्दा प्रतिस्पर्धात्मक र व्यवस्थित रुपमा प्रतियोगितालाई अगाडि बढाउने तयारी भैरहेको बताए ।
हेटौंडा–१० स्थित कृषि तथा वन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने पक्का भैसकेको बताइएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५ लाख र ३ लाख रुपियाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । २०७२ साल बैशाखको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानले गत बर्षबाट हेटौंडा गोल्डकप फुटबल सुरु गरेको हो । 

Powered by Blogger.