संविधान कार्यान्वयनमा सबैको सहयोग आवश्यक ः राज्यमन्त्री महतो
हेटौंडा, २ पुस/भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम महतोले संविधान कार्यान्वयन हुन नदिने खेल भैरहेको भन्दै यस तर्फ यातायात व्यवसायीले पनि ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।
टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौंडाको रजत बर्ष एवम् २५ औं बार्षिक साधारणसभाका प्रमुख अतिथि रहेका उनले संविधान कार्यान्वयन अपरिहार्य भएको र यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । यातायात क्षेत्रका समस्या समाधानको लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने भन्दै राज्यमन्त्री महतोले मन्त्रालय र यातायातसंग सम्बन्धित संस्थासंग सहमति र सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।
यस्तै सरकारले २० बर्ष पुरानो सवारी हटाउने निर्णय गरेको भन्दै उनले प्राविधिक जाँच गरेर मात्र हटाइनुपर्ने धारणा राखे । ‘२० बर्षे सवारी हटाउने सवालमा प्राविधिक जाँचको मापदण्ड हुनु आवश्यक छु, उनले भने, ुतपाईंहरुको लगानी खेर जाँदैन ढुक्क हुनुस्, यसको लागि मैले गर्नुपर्ने सकारात्मक सहयोग रहनेछ ।’ कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले एउटा स्काभेटरले बनाएको साँघुरो बाटोमा लाखौँको सवारी चलाउनुपर्ने बाध्यात्मक परिस्थिती रहेको भन्दै यस तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको औंल्याए । नेपालमा अग्रिम कर बुझाउने एक मात्र क्षेत्र यातायात व्यवसायी भएको भन्दै उनले विभिन्न स्थानमा राखिएका यातायात सेवा केन्द्र केवल बोर्डमा मात्र सिमित रहेको बताए । महासंघका उपाध्यक्षद्वय रामप्रसाद सुवेदी र भरत तिमल्सिना तथा महासचिव सरोज सिटौलाले यातायात व्यवसायीलाई केवल ढालको रुपमा मात्र प्रयोग गरिएको भएपनि यातायात व्यवसायीको हकअधिकारको बिषयमा कसैले नबोलेको गुनासो गरे । नेपालमा यातायात बन्द नगरी कुनै आन्दोलन सफल नभएको दावी गर्दै उनीहरुले २० बर्ष पुरानो सवारीलाई कुनै सुविधा नदिएरै हटाउने भए निजामती कर्मचारीको पेन्सन सुविधा बन्द गर्न माग गरे । टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष प्रदीप गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा मालेका केन्द्रीय सदस्य भीमसेन महत, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ता यातायात व्यवसायीहरुले दुर्घटनापश्चात घटनालाई राजनीतिकरण गर्ने गरिएको, पार्किङको अभाव रहेको, ट्राफिक प्रहरीले दुःख दिने गरेको लगायतका समस्या राखेका थिए ।
