Header Ads


युवाले तिरे स्वास्थ्य केन्द्रको विद्युत् बक्यौता

हेटौंडा, १९ मंसिर/मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको २०६१ सालदेखिको बिद्युत् प्राधिकरणमा बुझाउन बाँकी बक्यौता मनहरी स्वयम्सेवक समूहले तिरिदिएको
छ । 
दशैंतिहारको समयमा प्राधिकरणले २ महिना स्वास्थ्य केन्द्रको लाइन काटिदिएपछि बाँकी बक्यौता तिर्ने उद्देश्यका साथ गठन भएको समूहले दुई किस्ता गरी ४ लाख ७७ हजार ३ सय ५९ रुपियाँ प्राधिकरणलाई बुझाएको हो । कात्तिक ११ गते २ लाख रुपियाँ प्राधिकरणमा बुझाएको समूहले तिर्न बाँकी २ लाख ७७ हजार ३ सय ५९ रुपियाँ आइतबार प्राधिकरणमा बुझाएको हो ।
जरिवाना मात्र ५५ हजार रुपियाँ भएको पाइएको छ । मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ तथा सदस्यद्वय सगुन स्याङ्तान र शिवकुमार काशीले नेपाल बिद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रका आय प्रमुख रमेश पराजुलीलाई आइतबार बाँकी बक्यौता २ लाख ७७ हजार ३ सय ५९ रुपियाँ बुझाएका हुन् । ‘गाउँमा रहेको स्वास्थ्य केन्द्रको बेहाल अवस्था देखेपछि हामीले यसको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ मनहरी स्वयम्सेवक समूह गठन गरेर रकम संकलन अभियान थालनी गरेका थियौं’, संयोजक तितुङले भने, ‘यस अभियानलाई मनहरीका व्यक्ति देखि विभिन्न संघसंस्था र विदेशमा रहेका दाजुभाईले समेत सहयोग गरेका छन् । बाँकी बक्यौता तिर्न सफल भएकोमा हामी निकै खुसी छौँ ।’ उनका अनुसार यस अभियानको लागि कम्तिमा ५ हजारदेखि ५० हजार रुपियाँसम्म सहयोग प्राप्त भएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समूहबाट ५० हजार रुपियाँ सहयोग भएको मनहरी स्वयम्सेवक समूहका सदस्य शिवकुमार काशीले बताए । यस अभियानको लागि कोरियामा रहेका नेपालीहरुबाट ९० हजार, जापानबाट ३० हजार रुपियाँ प्राप्त भएको उनले जानकारी दिए । प्राधिरकणका आय प्रमुख पराजुलीले २०६१ सालदेखिको बक्यौता बाँकी रहेको भएपनि बेला बखत फाट्टफुट्ट तिर्दै आएको बताए । 
Powered by Blogger.