भवन निर्माणमा सहयोगार्थ महजात्रा
हेटौंडा,२६ मंसिर/मानवसेवा आश्रम हेटौंडाको निर्माणाधीन भवनको सहयोगका लागि बृहत महजात्रा कार्यक्रम हुने भएको छ ।
विभिन्न कारणले दुःख पाएर सडकमा आइपुगेका मानिसहरुको उद्धार, संरक्षण एवम् पालनपोषण गर्दैै मानवसेवा आश्रमले हेटौंडा–९ स्थित लामसुरेमा करिब ५ करोडको लगानीमा भवन निर्माण गरिरहेको छ । यही भवन निर्माणको लागि रकमको जोहो गर्ने उद्देश्यका साथ आगामी पुष ९ गते शनिबार हेटौंडाको भूटनदेवी स्कूलको प्राङ्गणमा हास्य प्रहसनको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । महजात्रा कार्यक्रमको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका प्राचार्य पुरनबहादुर जोशीको संयोजकत्वमा मूल आयोजक समिति निर्माण भएको छ ।
‘एउटा नयाँ अनि पवित्र उद्देश्यका साथ मानवसेवा आश्रमले सडक मानवरहित नेपाल बनाउने उद्देश्यले काम
गरिरहेको छ’, जोशीले भने, ‘यस अभियानलाई हामी सबैले साथ र सहयोग दिनु आवश्यक छ ।’ कार्यक्रमबाट ५० लाख रुपियाँ रकम बचत गर्ने लक्ष्य राखिएको मानवसेवा आश्रम हेटौंडाका संयोजक रामजी अधिकारीले जानकारी दिए । पुष ९ गते हुने कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) स“गै किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठीलगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रममा सहभागी हुन चाहनेको लागि २ हजार, १ हजार र ५ सय रुपियाँको टिकटको व्यवस्था
गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हेटौंडा–९ स्थित लामसुरेमा निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि हालसम्म करिब १ करोड रुपियाँ खर्च भइसकेको छ । आश्रमको लागि करिब ४० कोठे भवन निर्माण भइरहेको हो ।
