घरधनी र व्यवसायीले भने
मुआब्जा लिएर मात्र भत्काउन दिन्छौ
हेटौंडा, २६ मंसिर/हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको पुनः चर्चा चुलिएपछि स्थानीय व्यवसायी र घरधनीले उचित मुआब्जा पाए मात्र घर भत्काउन दिने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार भएको छलफल कार्यक्रममा घर धनी तथा व्यवसायीले आफूहरु विकासको बाधक नभएको भन्दै उचित मुआब्जा पाए सडक चौडा पार्न कुनै रोकतोक नगर्ने बताएका हुन् । पूर्वपश्चिम राजमार्गले छुने बारा र चितवन जिल्लाका सबै स्थानमा सरकारले तोकेको मापदण्ड अनुसार सडक विस्तार भइसके पनि हेटौंडा क्षेत्रको सडक विस्तार भएको छैन । संघका अध्यक्ष राजकुमार न्यौपानेले मुआब्जा सहितको सडक विस्तारमा संघको समर्थन रहेको तर बिना मुआब्जा सडक विस्तार कार्य अघि बढाईए संघकै नेतृत्वमा आन्दोलनको कार्यक्रम गर्ने बताए ।
छलफल कार्यक्रममा स्थानीय घरधनी, व्यवसायीको उपस्थिति रहेको
थियो । दशकौं देखि अन्यौलमा रहेको सडक विस्तार नहुदा २५ मिटर भित्रका जग्गा तथा भौतिक संरचनाको किनबेच र बैंकले समेत धितो राख्ने गरेको छैन । मकवानपुर सदरमुकाम हेटौडामा सवारी चापका कारण आवत जावतमा समेत समस्या परिरहेको छ ।
