Header Ads


‘स्वच्छ दूध उत्पादन गरेर मात्र सफल नहुने’

हेटौंडा, २६ मंसिर/ केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले स्वच्छ दूध उत्पादन गरेर मात्र व्यवसायी तथा किसान सफल नहुने बताएका छन् ।
असल दूध व्यवस्थापन गर्नको निम्ति गाईको थूनबाट निस्केको गुणस्तरयुक्त दूध उपभोक्ताको मुखसम्म पुगेमात्र स्वच्छ सफा दूध उत्पादन हुने अध्यक्ष देवकोटाले बताए । मनकामना दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड गढी–६ मक्रान्चुलीले आयोजना आइतबार भएको स्वच्छ सफा दूध उत्पादन विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका देवकोटाले गुणस्तरीय दूध उत्पादनले गर्दा ३५ करोड शहरको पूँजी गाउँतिर जान सफल भएको बताए ।
‘राष्ट्रिय सहकारीले ल्याएको एक जिल्ला, एक उत्पादन अवधारणा नीतिमा दूध व्यवसायी पनि प्रभावकारी भएको बताउँदै देवकोटाले भने ‘मकवानपुर जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनको निम्ति मकवानपुर उद्योग वाणिज्य संघलाई आग्रह गर्नेछौँ ।’ जिएमपी कार्यक्रम अन्तर्गत दूधलाई गुणस्तर बनाउनको निम्ति जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग समन्वय गरी १२ लाख रुपैयाँ खर्च गरिने बताउँदै उनले भने, –‘प्लास्टिकको भाडोमा दूध बिक्री वितरण बन्द गरिएको छ ।’  दूधमा ६८ प्रतिशत आल्कोल टेष्ट गरिरहेको अवस्थामा अब जिएमपी प्रयोग गरेर ७० प्रतिशत गुणस्तर दूध उपभोक्तालाई प्रदान गरिनुपर्ने उनले बताए ।
दूधको मात्र फ्याट र एसएनएफद्धारा मापन गरिरहेको अवस्थामा अब प्रोटिनको आधारमा दूधको मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यसैगरी हेटौंडा दुग्ध वितरण आयोजनाका महेन्द्र रायले मकवानपुर जिल्लाको आसपासमा रहेका जिल्लाहरुभन्दा मकवानपुरको दूध सफा हुने बताए । स्वच्छ सफा दूधले गर्दा उत्पादन पनि गुणस्तरीय हुने उनले बताए । त्यसैगरी जिल्ला पशु कार्यालय मकवानपुरका पशु चिकित्सक डाक्टर सञ्जीव ठाकुरले गुणस्तर दूध हुनको निम्ति पाँचवटा एकाइहरुलाई स्कोरकार्ड बनाएर लागू गर्नुपर्ने बताए । दूध दिने गाइवस्तुहरुमा प्रत्येक ६ महिनाको अवधि टिभि टेष्ट गर्नुपर्ने उनले बताए । त्यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीले दूधमा ल्याक्टो र फ्याटले गर्दा मकवानपुरको दूध गुणस्तर भएकोले छिमेकी जिल्लाले पनि रुचाएको बताए । उनले दूध व्यवसायीमा आवद्ध रहेका किसानलाई व्यवसायिक बनाउनको निम्ति राज्य निकायले पनि पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा फरवार्ड नेपालका राजेश श्रेष्ठ, हेटौंडा डेरी इण्डष्ट्रिजका चन्द्रबहादुर थापा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मन्त्व्य व्यक्त गरेका थिए । फरवार्ड नेपालको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालको सभाध्यक्षता रहेको थियो । 
Powered by Blogger.