एमालेको जनवर्गीय संगठनको विवाद सकियो
हेटौंडा, २६ मंसिर/नेपाल कम्युनिष्ट पार्टी एमाले. मकवानपुरले आफ्नो जनवर्गीय संगठन अखिल नेपाल महिला संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा देखिएको विवाद समाधान भएको जनाएको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित केन्द्रीय नेताहरुको उपस्थितिमा जिल्लाको कार्यदलको सिफारिसमा पार्टीले हस्तक्षेप गरी विवाद समाधान गरेको बताइएको छ । अनेमसंघमा पार्बती राना अध्यक्ष रहने गरी पदाधिकारी बाँडफाँड गरिएको छ । जसअनुसार उपाध्यक्षमा मेनुका दाहाल र सीता अधिकारी, सचिवमा सीता बिष्ट र कोषाध्यक्षमा पानीमिरा रानालाई जिम्मेवारी दिने निर्णय भएको नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् । त्यसै गरी यस अगाडि पार्बती रानाको समूहबाट सचिब बनेकी जुना दाहाललाई पार्टीको जिल्ला सदस्यमा मनोनित गरेको छ । यता अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष पौडेलको संयोजकत्वमा आयोजक कमिटी निर्माण गरिएको छ । कमिटीको सचिवको जिम्मेवारी किसन घिसिङलाई दिइएको पार्टीका सचिव एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए । बिबाद समाधानको लागि पार्टीका उपाध्यक्ष बद्री लम्सालको संयोजकत्वमा मोर्चा प्रमुख श्रीधर पोख्रेल र उपसचिव मिना लामा सदस्य रहने गरी कार्यदल निर्माण गरिएको थियो ।

