अतिक्रमित सरकारी संरचना भत्काउन निर्देशन
हेटौंडा, २९ मंसिर/सडक सीमा अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउन डिभिजन सडक कार्यालय हेटौँडाले राजमार्गको २५ मिटर आसपासमा पर्ने सरकारी कार्यालयहरुलाई पत्राचार गरेको छ ।
सडक कार्यालय हेटौँडाले मकवानपुरका एक दर्जन बढी सडक सीमा अतिक्रमण गरी बसेको सरकारी कार्यालय एवम् सरकारी स्वामित्वका संस्थाहरुलाई पत्राचार गरेको हो । कार्यालयले हेटौँडा अस्पताललाई पठाइएको पत्रमा यसअघिपनि सडक सिमा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन पत्राचार गर्दासमेत अटेर गरेको भन्दै १० दिनभित्र हटाउन भनिएको छ ।
सडक कार्यालयले त्रिभुवन राजपथ र महेन्द्र राजमार्गअन्तर्गत सडकको २५ मिटरभित्र सीमा अतिक्रमण गरी बनाइएका भौतिकलगायत अन्य संरचना हटाई लैजान पत्राचार गरेपनि नहटाएमा के हुन्छ भन्ने पत्रमा उल्लेख छैन । पत्रमासडक सिमाभित्र भौतिकलगायत अन्य संरचना हटाई आवश्यक सहयोग गर्नु हुन भनिएको
छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख विनोद केसीको निर्देशनपछि सडकले सरकारी कार्यालयहरुलाई पत्राचार गरेको हो । डिभिजन सडक कार्यालयले जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेवि इक्विप्मेन्ट, हेटौँडा अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको छ । त्यसैगरी हेटौँडा–१० स्थित नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा औद्योगिक ब्यवस्थापन कार्यालयसमेत सडक कार्यालय, हेटौँडाले पत्र पठाएको छ । सरकारी कार्यालयले सडक सिमा अतिक्रमण गरी बनाएका भौतिक संरचना हटाएपछि दोश्रोचरणमा निजी भवनहरु हटाइने सडकले जनाएको छ ।

