अधिकारी अध्यक्ष, खरेल राष्ट्रिय उपाध्यक्ष
हेटौंडा, २९ मंसिर/हेटौंडा लेडी जेसीज बर्ष सन् २०१६ का अध्यक्ष शोभा खरेल नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।
धापासी जेसीजको आतिथ्यतामा २५ गतेबाट सुरु भएको महाधिवेशनबाट सन् २०१७ को लागि बहुमतबाट विजयी भएकी हुन् । एकहजार २ सय ६१ मत खसेकोमा खरेलले ९ सय १७ मत प्राप्त गर्दै दोस्रो स्थानमा राष्टिूय उपाध्यक्ष भएकी हुन् । नेपाल जेसीजको विधान अनुसार महाधिवेशनबाट हरेक बर्ष १ अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष चुनिन्छन् ।
राष्ट्रिय उपाध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिंदै खरेलले आम युवाहरुको हकहितमा काम गर्ने बताइन् । ‘१६ देखि ४० बर्ष समूहका युवाहरुको साझा संस्था नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा बहुमतबाट विजयी हुन पाएकोमा निकै खुसी छुु, खरेलले थपिन्, ‘जेसीज संस्थाप्रति युवाहरुको आकर्षण बढाउँदै अध्यक्षको ‘प्लान अफ एक्सन’ संगै आफ्ना केही एजेण्डाहरुलाई समेत अघि बढाउँदै आम युवाको हकहितमा काम गर्नेछु ।’
देशभर रहेका शाखाहरुसंगको समन्वय एवम् सहकार्यमा काम गर्ने खरेलले बताइन् । मकवानपुरमा रहेका ५ वटा शाखाको साझा उम्मेदवारको रुपमा खरेलले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । यस्तै नेपाल जेसीजको अध्यक्ष पदमा प्रकाश अधिकारी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी बिष्णु बराललाई हराउँदै उनी अध्यक्षमा विजयी भएका हुन् ।

