ढकालद्वारा महेन्द्रज्योति उमाविलाई ५ थान कम्प्यूटर प्रदान
हेटौंडा, २९ मंसिर/हाँडीखोलामा भएको विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका समाजसेवी चिरञ्जिवी ढकालले हाँडीखोला–६ मा रहेको महेन्द्रज्योति उच्च माविलाई ५ थान कम्प्यूटर सहयोग प्रदान गरेका छन् ।
मकवानपुर घर भै हाल बेलायतमा बस्दै ढकालले विद्यालयको लागि ५ थान कम्प्यूटर सहयोग गरेका हुन् । बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी ढकालले कम्प्यूटर हस्तान्तरण गरेका हुन् । केही बर्ष हाँडीखोलामा बसोबास गरेका र महेन्द्रज्योति विद्यालयमा अध्ययन समेत गरेका ढकालले कम्प्यूटर हस्तान्तरण कार्यक्रममा भने, ‘मैले केही बर्ष अध्ययन गरेको यस बिद्यालयलाई समयानुकुल प्राविधिक सिकाईमा सहयोग होस् भन्ने उद्देश्यले ५ थान कम्प्यूटर सहयोग गरेको हुँ ।’
उनले यसअघि बिद्यालयमा रहेको कम्प्यूटर र आफूले दिएको कम्प्यूटरबाट यहाँका बिद्यार्थीलाई कम्प्यूटर शिक्षा अध्ययनको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । ढकालले गत बर्ष बिद्यालयको लागि सोलार सहयोग गरेका थिए । सोलार सहयोगको क्रममा कम्प्यूटरको अभाव देखिएकोले अहिले सहयोग गरेको ढकालको भनाई छ । विदेशमा रहँदा पनि मकवानपुर र विशेषगरी हाँडीखोलाको समस्या समाधानमा सक्दो पहल र सहयोग गरिरहेको बताउँदै उनले आगामी दिनमा सक्दो सहयोग जारी रहने बताए ।
‘विदेशमा रहेका धेरै नेपालीबाट आएको सहयोग नेपालको विभिन्न स्थानमा दुरुपयोग भएकोमा हामी निकै चिन्तित छौँ’, सहयोगी ढकालले थपे, ‘अर्काले दिएको सामान त हो नि भनेर वेवास्ता गर्ने गलत प्रवृत्ति विकास हुँदै गएको छ । विदेशमा रहेका हामी नेपालको समस्यामा चिन्तित रहेका छौँ । आवश्यक सहयोग पनि गर्न तयार छौं ।’ उनले कम्प्यूटर शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन र दिइएको सामग्रीको संरक्षण गर्न समेत अनुरोध गरे । महेन्द्रज्योति उच्च माविका प्राचार्य गोकुल शर्माले सहयोगीबाट विद्यालयलाई धेरै सघाउ पुगेको बताउँदै ढकालले दिएको कम्प्यूटर समेत गर्दा १२ वटा भएको र छिट्टै कम्प्यूटर शिक्षा पढाई सुरु गर्ने जानकारी दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पुडासैनीले सहयोग स्वरुप प्राप्त भएको कम्प्यूटरको प्रभावकारी सदुपयोग भएमा मात्र सहयोगको वास्तविक सार्थकता हुने बताए । सहयोगी ढकाललाई विद्यालयले फूलमाला सहित कदरपत्रले सम्मान गरेको विद्यालयका लेखापाल अनन्तप्रकाश अर्यालले जानकारी दिए । कम्प्यूटर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
