फेकोफोनको सामुदायिक स्रोत केन्द्र भवन शिलान्यास
हेटौंडा, २९ मंसिर/नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको सामुदायिक स्रोत केन्द्र भवनको बुधबार शिलान्यास गरेका छन् ।
फेकोफनको जिल्ला परिषद्को सन्दर्भमा राज्यमन्त्री बानियाँले हेटौँडा–१० स्थित भुटनदेवी सामुदायिक वन समूहको जग्गामा भवन शिलान्यास गरेका हुन् । शिलान्यास एवम् परिषद् उद्घाटन कार्यक्रममा राज्यमन्त्री बानियाँले लोकतन्त्रमा वन जनताकै हुने बताउँदै यसको संरक्षण, सम्बद्र्धन र उपयोग उपभोक्ताले नै गर्नुपर्नेमा जोड दिए ।
वनलाई गरिव, दलित, विपन्न वर्गको हितमा अधिकतम सदुपयोग गर्नुपर्ने भन्दै उनले यसमा सामुदायिकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । वनलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सके आयआर्जन र वनको उत्पादकत्वमा बृद्धि हुनेतर्फ ध्यान दिन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरे । कार्यक्रममा सांसदद्वय राजाराम स्याङ्तान र गणेश थापा, नेकपा एमालेका गायत्री सुवेदी, माओवादी केन्द्रका कमानसिं पाख्रिन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, फेकोफनका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारती पाठक, मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई र बलराम अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम फेकोफन मकवानपुर अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा भएको हो । १ करोड ९ लाख रुपियाँको लागतमा निर्माण हुने दुई तल्ले ५ कोठे पक्की भवनमा दुई सभाहल रहने छन् । भवन निर्माण कार्य २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइएको छ । कार्यक्रममा सञ्चारकर्मीहरु रुपेश दुलाल, अशोकसुजन श्रेष्ठ र भीमसेन पौडेललाई एक हजार पाँच सय रुपियाँसहित सम्मान गरिएको थियो । यस्तै दामनको ऋषेश्वर, मनहरीको सिमपानी–देवकोट, हेटौँडाको न्यूरेनी, भुटनदेवी र बेतखोल्सी, छतिवनको सिमातमाई तथा सामुदायिक उपभोक्ता महासंघ नेपाललाई कदर पत्र प्रदान गरिएको थियो ।
