नयाँ शक्ति मकवानपुरको नयाँ अभियान
हेटौंडा, २९ मंसिर/नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले नयाँ अभियान सार्वजनिक गरेको छ । अबको ६ महिना घरघरमा नयाू शक्ति अभियान सञ्चालन गर्ने जनाएको छ ।
पार्टीको मंगलबार बसेको मकवानपुर जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय तथा ३ नम्बर प्रदेशको परिपत्रअनुसार मकवानपुर जिल्लामा सञ्चालन गर्ने ६ महिने अभियानअन्तर्गतको कार्यक्रम तय गरेको बताएको हो । अभियान सफल बनाउन पार्टीका सहसंयोजक विवेक वाईबाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अभियान परिचालन समिति गठन गरिएको छ ।
अभियानलाई गाउँ, नगर तथा उपमहानगरपालिका स्तरमा सञ्चालन गर्नको लागि मकवानपुरका सबै गाउँपालिका र नगरमा उत्प्रेरकको जिम्मेवारीसमेत तोकिएको छ । बाग्मती गाउँपालिकामा शेर बहादुर पहरी, बकैया गाउँपालिकामा जीवनमान मोक्तान, मकवानपुरगढी गाउँपालिकामा पाल्साङबज्र लामा, हेटौंडा उपमहानगरपालिकमा राजकुमार वाईबालाई उत्प्रेरकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भीमफेदी गाउँपालिकामा जिल्ला कार्यालयले उत्प्रेरकको जिम्मेवारी लिनेछ भने थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा ज्योती रायमाझीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने पार्टीले जनाएको छ ।
कैलाश गाउँपालिकामा टंक हिमडुङ, मनहरी गाउँपालिकामा अम्बर लामा, राक्सिराङ गाउँपालिकामा बिवेक वाईबालाई उत्प्रेरकको जिम्मेवारी दिइएको जनाएको छ । अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवा, अधिवेशनहरु हुँदै महाधिवेशनसम्मको तयारी पूरा गर्ने गरी तीन चरणको कार्यक्रम घोषणा गरिएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए । मंगलबारको बैठकले प्रचारप्रसार समितिको संयोजकमा केशब समर्पणलाई जिम्मेवारी दिइएको छ भने जिल्ला कार्यकारी सदस्य सुबोध रिमालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै अन्य विभिन्न समितिहरु निर्माण गरेको नयाँ शक्ति नेपाल मकवानपुरले जनाएको छ ।

