दूधको कर छुटको प्रयास भइरहेको छ ः मन्त्री थानी
हेटौंडा,३० मंसिर/सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले अबको सहकारी ऐनमा हाल दूधमा लाग्दै आएको कर छुटको प्रयास भइरहेको बताएका छन् ।
बिहीबार हेटौंडामा भएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको २३ औं बार्षिक साधारणसभामा उनले दूधमा लाग्दै आएको कर छुट गराउने बिषयमा छलफल चलिरहेको बताएका हुन् । यस्तै उनले सहकारी ऐन निरंकुश नहुने बताउँदै यसमा ढुक्क हुन सहकारीकर्मीहरुलाई अनुरोध गरे । २०४८ सालको ऐन अहिलेको अवस्थामा प्रभावकारी नभएको भन्दै उनले नयाँ ऐनको लागि संसद् छलफल चलिरहेको जानकारी दिए ।
नेपाल दूधमा आत्मनिर्भर होस् भन्ने बिषयमा सरकारको चिन्ता रहँदै आएको भन्दै मन्त्री थानीले दूधको लागत घटाउनका लागि किसानले पनि आफ्नो तर्फबाट मेहनत गर्नुपर्ने सुझाव दिए । ‘लागत घटाउनका लागि हामी आर्फैंले पनि मेहनत गर्नुप¥यो, यो पेशाले धेरैलाई रोजगारीको सृजना पनि गरेको छ’, उनले भने, ‘किसानले लागत मूल्य भन्दा कम मूल्यमा दूध बेच्नुपर्ने अवस्था नआओस् भन्ने बिषयमा सरकार पनि सचेत छ ।’ दूधको उत्पादन मूल्य कमी हुँदा किसान मारमा परिरहेको भन्दै उनले मुलुकलाई दूधमा आत्मनिर्भर पार्नको लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
यस्तै सांसद् पशुपति चौलागाईंले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन अभियान चलाउनु आवश्यक रहेको
धारणा राखे । सहकारी ऐन प्रभावकारी बनाउनको लागि प्रयास भइरहेको जानकारी दिंदै उनले विदेशी दूधस“ग नेपाली उत्पादनको दूधले प्रतिस्पर्धा गर्नको लागि लागत मूल्य घटाउनुपर्ने बताए । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारणसभामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं, पशुसेवा विभागका कार्यकारी निर्देशक डा. बिमलकुमार शर्मा, पशुपन्छी मन्त्रालयका सहसचिव केशव प्रेमीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा पूर्व अध्यक्षद्वय ढाकाराम अर्याल र माधव कोइरालालाई सम्मान गरिएको थियो भने ४ वटा उत्कृष्ठ सहकारीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने सहकारीहरुमा मकवानपुरको गढी–६ मा रहेको मनकामना दुग्ध उत्पादक कृषि सहकारी संस्था, नवलपरासीको एकीकृत दुग्ध उत्पादक सहकारी संस्था, कोहलपुर बाँकेको सृजना दुग्ध उत्पादक कृषि सहकारी संस्था र इलामको कन्यम दुग्ध उत्पादक कृषि सहकारी संस्था रहेको छ ।
