Header Ads


‘लोकमानलाई सिफारिस गर्नेहरुलाई कारबाही गर्नुपर्छ’

हेटौंडा, २५ पुस÷नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको फागुन १ गते हुने महाधिवेशन पार्टीको बिषय मात्र नभै नेपाली जनताको भाग्य र भविष्य फैसला गर्ने बिषय भएको बताएका छन् । 
सोमबार हेटौंडामा भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेपालमा क्रान्ति आवश्यक रहेको भन्दै ढिलोचाँडो क्रान्ति हुने दावी गरेका छन् । पछिल्लो समय नेपालका राजनीतिक दलका नेताहरु एक अर्कामा आरोपप्रत्यारोपमा मात्र व्यस्त रहेको, नेताहरुले आफूसंग भएको सम्पती लुकाएर सामान्य जनतामा भएजतिको सम्पती समेत नदेखाएको भन्दै उनले भने, ‘फट्याईं गर्ने, जनतालाई ढाँट्ने पनि एउटा हद हुन्छ नि । जसले जे भनेपनि जनताले पत्याउँछन् भन्ने लाग्छ की क्या हो ?’ 
देशमा क्रान्ति आवश्यक रहेको भन्दै उनले अहिलेको राजनीतिक दलका नेता, व्यवहार र अहिलेको संसदीय व्यवस्थादेखि जनतामा निराशा रहेको दावी गरे । ‘अहिले संसदीय राजनीतिभित्र रहेका पार्टीलाई देशको विकास गर्न कसले रोक्यो ? देश चलाएको पनि भन्ने अनि देश विकासको लागि केही गर्न पनि नसक्ने ? देश कसले चलाइरहेको छ ? जनताले यसको जवाफ खोजिरहेका छन्’, विप्लवले भने, ‘यस्ता धेरै कारणले अहिलेको व्यवस्था ठीक छैन । यसलाई परिवर्तन गर्नु जरुरी छ । परिवर्तनको लागि क्रान्ति आवश्यक छ ।’
यस्तै उनले लोकमानसिंह कार्कीको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला सही भएको तर्क गर्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गर्ने दलका नेताहरुलाई लाज हुनुपर्ने बताए । ‘लोकमान आफैँमा दोषी, खराब एवम् अयोग्य हुन्, यति हुँदाहुँदै उनलाई सिफारिस गर्ने दलका नेताहरु झनै दोषी हुन्’, उनले थपे, ‘उनीहरुलाई अब नेपाली जनताले कारबाही गर्नेछन् ।’ लोकमान पछि अब लोकमान जस्तै प्रवृत्ति भएका अरु नेताहरुको पालो आउने छ ।’ अबको क्रान्ति नेपालकै मौलिक विशेषता हुने भन्दै उनले यसका लागि नयाँ श्रमिक वर्ग (मजदुर, किसान, देशभक्त) हरुको एकता पैदा गरेर अबको संघर्षलाई अगाडी लैजाने योजना रहेको सुनाए । अहिलेको राजनीतिक दल र व्यवस्थादेखि जनतामा निराशा रहेको र परिवर्तनको लागि जे पनि गर्न तयार रहेको अवस्था रहेको उनले दावी छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्रीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नारायणी ब्यूरो संयोजक चिरण पुन, क्रान्तिकारी टे«ड युनियन महासंघ केन्द्रीय सदस्य एवम् अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ केन्द्रीय संयोजक गोकुल दाहाल, केन्द्रीय सदस्य विजय दर्नाललगायतले समयसामयिक राजनीतिक अवस्था र नेकपा (माओवादी) को भूमिकालगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.