२८ र २९ गते खाद्य मेला
हेटौंडा, ११ माघ/नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा यही माघ २८ र २९ गते हेटौंडाको भुटनदेवी विद्यालयको मैदानमा खाद्य मेला हुने भएको छ ।
चालू आर्थिक वर्षको बार्षिक कार्ययोजना अन्तर्गत हेटौंडामा मेला आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ । गत वर्ष सिन्धुलीमा आयोजना गरेको मेला यस वर्ष हेटौंडामा आयोजना गर्न लागिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिए । प्रवेश निःशूल्क रहने मेलामा ५५ वटा स्टल रहने बताइएको छ । मेलामा स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरुको प्रदर्शनी, विभिन्न जात जातिसंग सम्बन्धित परम्परागत पोषिला खाद्य पदार्थहरुको प्रदर्शनी, खाद्य प्रशोधनसंग सम्बन्धित उपकरण, रसायन तथा मेसिनरीहरुको प्रदर्शनी, खाने बानीमा सुधारका लागि परम्परागत स्वच्छ तथा पोषिला खाद्य पदार्थको प्रदर्शनी, परम्परागत लोक साँस्कृति कार्यक्रम प्रस्तुती, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती र उत्कृष्ट स्टलहरुलाई पुरस्कारको व्यवस्था रहेको रिजालले जानकारी दिए ।
‘हेटौंडा बजार २५ मिटरको अस्तव्यस्तले गर्दा कार्यक्रम सफल नहुने हो कि भन्ने चिन्ता छ, हामीले माघ महिनामा मेला आयोजना गर्नुपर्ने हुन्छ र फागुन महिनामा फुड फेष्टीवल कार्यक्रम तय भएको छ’, उनले भने ।

