Header Ads


‘जनपक्षीय हितमा सहकारी ऐन आवश्यक’

विजय पौडेल
हेटौंडा, २७ पुस÷राष्ट्रिय दुध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुङ्गेलले सहकारीलाई प्रभावकारी र उत्पादनमुलुक बनाउनको निम्ति जनपक्षीय हितमा नयाँ सहकारी ऐनको आवश्यकता रहेको बताएका छन् ।
जनतासंग प्रत्यक्ष जोडिएको सहकारी ऐनले सहकारीमैत्री र देश सम्वृद्ध हुने भएकोले यसको प्रवद्र्धनको लागि नेपाल सरकारले ध्यान दिनुपर्ने उनले जोड दिए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड हेटौंडाको २४ औँ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका ढुङ्गेलले अहिलेको 
सहकारी ऐन जनताको हित विपरीत भएकोले यसलाई परिमार्जन गरी जनताको हितको विषयवस्तुलाई समेटेर नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । ढुङ्गेलले दूधबाट पञ्चामृत बन्ने भएकोले दूधको ‘क्वालिटी’ बिगार्ने र सपार्ने काम मान्छेले गर्ने भएकोले यस तर्फ ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए । 
उनले समस्या नभएको ठाउँ कतै नभएको भन्दै उत्पादनमा नलागेको मानिस गतिछाडा हुने भएकोले राष्टू समृद्ध नभए विकास कदापी सम्भव हुन नसक्ने बताए । गुणस्तरमा नो कम्प्रोमाइज भने जस्तै दूधको सहकारी बलियो हुनको निम्ति निर्णयमा लोकतान्त्रिक र सहकारीमा सुशासन आवश्यक रहनुपर्ने ढुङ्गेलले बताए । मकवानपुरलाई दूध क्षेत्रमा अघि बढाउनको निम्ति संघले किसान, उद्योग र पशु कार्यालयसंग समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्लामा रहेको दुग्ध संस्थानमा एकद्वार प्रणाली संस्थानले अपनाएको बताए । 
सहकारी र उद्योगबीच समन्वय गरी दूधको गुणस्तर वृद्धि गर्नको निम्ति बजारलाई सर्वेक्षण गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष देवकोटाले बताए । पुस महिनामा दूधको समस्या देखा परेकोले दूधको विक्रि वितरण गर्नको निम्ति संस्थालाई कठिनाई उत्पन्न भइरहेको उनले बताए । जग्गा किनबेचबाट बढी मुनाफा आर्जन गर्ने भएकोले शहरमा पशुपालनको अवस्था न्यून हुने गरेको बताउँदै देवकोटाले दूध विक्रिवितरण व्यवस्थित बनाउनको निम्ति पाउडर प्लान्ट बनाउनुपर्ने आवश्यक रहेको बताए । संस्थाले बढी दूध विक्रि वितरण गर्ने उत्कृष्ट १० संस्थामध्ये किसान दुग्ध उत्पादक सहकारी संस्था, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था र जनजागृति दुग्ध उत्पादकलाई पुरस्कृत गरेको थियो भने बढी गुणस्तर दूध विक्रि वितरण गर्नेमा एकीकृत कृषक बहुउद्देश्यीय सहकारी संस्था, हात्तीसुँढे दुग्ध उत्पादक सहकारी संस्था र अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य कृष्णप्रसाद सापकोटालाई उत्कृष्ट संस्थाको पूर्व अध्यक्षको रुपमा सम्मान गरिएको थियो भने उत्कृष्ट व्यवस्थापकतर्फ सुपिङ दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक झलकप्रसाद शर्मा पुडासैनीलाई सम्मान गरेको थियो । त्यसैगरी संघले पत्रकारतर्फ प्रिया पौडेल, सरिता दाहाल र भीमसेन पौडेललाई नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक कुमारमणी दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले आर्थिक वर्ष २०७२÷०७३ मा १२ करोड ४३ लाख २० अजार १ सय ३१ रुपियाँको कारोवार गरेको छ । संघले आर्थिक वर्षमा कुल ३ लाख ७२ हजार ६ सय ९४ रुपियाँ खुद नाफा गर्न सफल भएको छ । 
कुल शेयर पूँजी ५ लाख ४० हजार रहेको संघमा ५४ ओटा दुग्ध उत्पादक सहकारी संस्थाहरु आवद्ध रहेका छन् । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, हेटौडा दुग्ध वितरण आयोजनाका प्रमुख सन्दिपराज प्रधान, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधान, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.