‘पृथ्वीनारायणको सम्मानमा कसैले अप्ठेरो मान्नुपर्दैन’
हेटौंडा, २७ पुस/नेपाल एकीकरणको प्रमुख अभियन्ता पृथ्वीनारायण शाहलाई सम्मान गर्न कुनै दलले अप्ठेरो मान्नु नपर्ने हेटौंडामा भएको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
२ सय ९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा राप्रपा मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको चियापान कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहलाई सबैले सम्मान गर्नुपर्ने बताएका हुन् । नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले पृथ्वीनारायणकै योगदानको कारण आज नेपाल र नेपालीको यो अवस्था भएको दावी गर्दै उनको सम्मानमा कसैले हिच्किच्याउनु आवश्यक नरहेको धारणा राखे ।
‘उनी सबैको साझा हुन् । साझा नै रहनदिनुपर्छ’, उनले थपे, ‘उनको भत्काइएको शालिकहरु पुनर्निर्माण हुनु आवश्यक छ ।’ यस्तै नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा चित्रित गर्दै उनको सम्मानमा सबै राजनीतिक दल एक भएर लाग्नु आवश्यक रहेको औंल्याइन् । छिमेकी मुलुकको गिद्धे नजर नेपालमा परिरहेको भन्दै उनले राष्टूलाई विखण्डन गर्नको लागि संविधान संशोधन प्रस्ताव ल्याइएको आरोप लगाइन् ।
यस्तै राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले भारतको राष्ट्रपति नेपाल आउँदा ३ दिन बिदा दिन तयार रहने सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन तथा राष्ट्रिय एकता दिवसको दिन बिदा नदिनु दुःखद् भएको बताए । यस्तै अर्का केन्द्रीय सदस्य मधु अधिकारीले वर्तमान सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न नसकेको गुनासो गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीलगायतको आतिथ्यता रहेको थियो ।
