हाँडीखोलामा गैंडा आतंक
![]() |
| तस्विर फाइल |
हेटौंडा, २७ पुस/मकवानपुरको हाँडीखोलामा पछिल्लो केहीदिन यता गैंडा आतंक भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट भागेर आएको गैंडाको कारण स्थानीय त्रसित छन् । सोमबार बिहान हाँडीखोला–६ लामिटारमा गैंडा देखिएको स्थानीयले जानकारी दिएका छन् । ‘जंगलमा घाँस काट्न जानेहरुले लामिटारको सिस्नेघारीमा गैंडा देखेपछि सबैजना भागाभाग भएछ’, गैंडाको बिषयमा जानकारी दिंदै लामिटारका निरञ्जन उप्रेतीले भने, ‘साँझ बिहान हिँड्न डराइ मर्नु भएको छ ।’
दिनभर जंगलमा बस्ने र रात परेपछि बस्तीमा पस्ने गैंडालाई निकुञ्ज पु¥याउनको लागि पहल गर्न स्थानीयले सरोकारवाला निकाय समक्ष अनुरोध गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट नजिकै रहेको हाँडीखोलामा यसअघि पनि बर्षेनी झैं गैंडा आउने र स्थानीयले दुःख दिने गरेको छ । २ बर्षअघि हाँडीखोलामा केहीदिन वितण्डा मच्चाएको गैंडा हेटौंडा बजार छिरेर एक जनाको ज्यान लिएको थियो भने १० जनालाई घाइते बनाइएको थियो । ‘साँझ पर्ने बित्तिकै गाउँ छिर्ने गैंडाको कारण तनाव भएको छ ।
मङ्गलबार राति पनि राँको बालेर गैंडा लखेट्दै हिँडियो’, लामिटारका भगवान अधिकारीले भने, ‘खेतबारी चाहर्दै हिँडेको गैंडाको कारण तरकारी बालीमा समेत क्षति पुगेको छ ।’ बेलैमा यसलाई नियन्त्रणमा लिएर निकुञ्ज नपु¥याए यसले मानिसको ज्यान लिन सक्ने स्थानीयले बताएका छन् ।
‘पक्कै पनि बहुलाएर यो गैंडा निकुञ्जबाट भागेको हुनुपर्छ’, स्थानीय अष्टराज अर्यालले भने, ‘आर्मी र हात्ति ल्याएर यो गैंडालाई नियन्त्रणमा नलिए यसले धनजनको क्षति पु¥याउने निश्चित छ ।’

