बस्तीपुर जेसीजमा न्यौपाने पदस्थापित
हेटौंडा, ११ माघ/बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०१७ को अध्यक्षका लागि पुष्कल न्यौपाने पदस्थापित भएका छन् ।
मङ्गलबार हेटौंडामा भएको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट एक बर्षका लागि उनी पदस्थापित भएका हुन् । सन् २०१६ का अयक्ष विनोदकुमार बर्तौलाले न्यौपानेलाई अध्यक्षको चेन हस्तान्तरण गर्दै औपचारिक रुपमा अध्यक्ष पद्मा पदास्थापित गराएका हुन् । अध्यक्ष न्यौपानेलाई पद तथा गोपनीयताको सपथ खुवाइएको थियो । सपथग्रहण कार्यक्रमपश्चात् अध्यक्षले विभिन्न पदमा मनोनित गरेका जेसीज सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
न्यौपानेले महासचिवमा प्रकाश थोकर, कोषाध्यक्षमा रबिन ढकाल, कानुनी सल्लाहकारमा भवनाथ अधिकारी, शाखा सम्पादकमा गणेशदर्पण अधिकारी, सचिवमा रमिला घलानलगायतलाई मनोनित गरेका छन् । अध्यक्ष पद्मा पदस्थापित भएका न्यौपानेले आफ्नो कार्यकालमा सबैलाई समेटेर स्वर्णीय बर्ष बनाउने प्रतिबद्धता जनाए । ‘यूथ फर यूनिटी भन्ने नारालाई आत्मसाथ गर्दै सबैलाई समेटर बस्तीपुर जेसीजको उचाईलाई अझै माथि पु¥याउने उद्देश्यका साथ अघि बढ्नेछु’, उनले भने, ‘सबैको साथ, सहयोग र माया पाउने अपेक्षा समेत गरेको छु ।’ अध्यक्ष न्यौपानेले समाजमा विभिन्न किसिमका रचनात्मक क्रियाकलाप गर्दै अगाडि बढ्ने र आफ्नो कार्यकाल स्मरणयोग्य बनाउने बताए । नेपाल जेसीज बर्ष २०१७ का अध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन् २०१६ अध्यक्ष बर्तौलाले आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न व्यक्ति तथा संस्थालाई मायाको चिनो तथा पुरस्कार प्रदान गरेका थिए । प्रमुख अतिथि अधिकारीले जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले सोहीअनुसार सामाजमा स्थापित हुन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल जेसीजका क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कैलाश खाकी श्रेष्ठ, निरुपित राष्ट्रिय उपाध्यक्ष सन्तोष रौनियार, नेपाल जेसीज पूर्व अध्यक्ष राजेशमोहन प्रधान, राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका सम्राट तुम्बाहाम्फे, हेटौंडा जेसीज अध्यक्ष अरुणकुमार दाहाल, बस्तीपुर जेसीज पूर्व अध्यक्ष दीपेन्द्रकुमार बर्तौला, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक जयराम सुवेदीको संयोजकत्वमा कार्यक्रम भएको हो ।

