मुआब्जा दिएर मात्रै २५ मिटर भत्काउन माग
हेटौंडा, १६ पुस/राजमार्गदेखि २५ मिटर आसपासमा घर तथा व्यवसाय रहेकाहरुले उचित मुआब्जा दिएर मात्र संरचना भत्काउन अनुरोध गरेका छन् ।
यसअघि मुआब्जा नलिएकाहरुलाई उचित मुआब्जा नदिए न्याय माग्न अदालत जाने उनीहरुले निष्कर्ष निकालेका छन् । शनिबार मकवानपुर उद्योग वाणिज्य संघमा भएको छलफल कार्यक्रममा उनीहरुले भोली आइतबार ¥यालीसहित क्षेत्रीय प्रशासक विनोद केसीलाई ज्ञापनपत्र बुझाउने निष्कर्ष निकालेको बस्ती संरक्षण समिति हेटौंडाका सदस्य कुमार पौडेलले जानकारी दिए । मुआब्जा नदिएर बजारका संरचना भत्काउन थालेमा अनिश्चितकालको लागि हेटौंडा बजार बन्द गर्ने चेतावनी समेत दिइएको छ । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले आफूहरु विकास विरोधी नभएको धारणा राख्दै मुआब्जा दिन बाँकी रहेकाहरुलाई उचित मुआब्जा दिएपछि मात्रै २५ मिटरभित्रका संरचना भत्काउनुपर्ने माग गरे । अन्तरक्रियाका सहभागीले बजारको बीचबाट बाटो चौडा गर्नुभन्दा यसको विकल्प खोज्नुपर्ने सुझाव दिएका थिए । घरधनी र व्यवसायी एकढिक्का हुनुपर्ने भन्दै उनीहरुले उचित मुआब्जाको लागि आन्दोलनको विकल्प नरहेको बताएका थिए । २५ मिटर भत्काउन दिन नहुने र उचित मुआब्जा पाउनुपर्ने बिषयमा मकवानपुरका कुनै राजनीतिक दलका नेताहरुले आजाव नउठाएको भन्दै उनीहरुले यसको परिणाम चुनावमा देखाइदिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा राजमार्गको २५ मिटर क्षेत्रभित्र घर तथा अन्य संरचना परेका र व्यवसाय सञ्चालन गर्दै आएकाहरुले मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको अगुवाई गर्नुपर्ने माग गरेका छन् ।
