Header Ads


२५ मिटर भत्किन्छ : दुवाडी

हेटौंडा, २४ पुस/मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले राजमार्ग आसपासको २५ मिटरभित्रका संरचना बिस्तार हुने बताएका छन् । 
आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘२५ मिटर विस्तार गर्ने हो । भत्काइएको स्थानमा सडक निर्माणको लागि आवश्यक डीपीआर तयार गर्नको लागि डिभिजन सडकलाई भनेको छु ।’ भत्काइएको स्थानमा बर्षौंसम्म धुलो उड्ने अवस्था हुन दिन नहुने प्रमुख जिल्ला अधिकारी दुवाडीको भनाई छ । हेटौंडा क्षेत्रमा राजमार्ग विस्तारको काम अघि बढिसकेको भन्दै उनले यो काम नरोकिने स्पष्ट पारे । ‘यसमा मेरो समन्वयकारी भूमिका रहन्छ,’ उनले भने, ‘सोही अनुसार राजमार्ग विस्तारमा २ वटा अलग–अलग कमिटि गठन गरेका काम अघि बढेको छ । सबै सरोकारवाला कार्यालय तथा निकायहरुको एउटा समिति र अर्को प्राविधिक समिति छ । प्राविधिक समितिमा हेटौंडा उपमहानगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन सडक कार्यालय रहेका छन् । दुबै समिति कार्यस्थलमा परिचालित भएका छन् ।’ मुआब्जाको विषयमा स्पष्ट पार्दै प्रजिअ दुवाडीले ऐन अनुसार नै काम अघि बढ्ने बताए । 
यस्तै फरक प्रसंगमा उनले मकवानपुरमा सञ्चालित क्रसर उद्योगहरुको नियमन र दर्ता नभएको जानकारी दिंदै क्रसर चल्न दिने वा नदिने भन्ने बिषय स्थानीयस्तरबाट टुङ्गो लाग्न सक्ने अवस्थामा नरहेको बताए । ‘क्रसरको बिषय यहाँको मात्र नभै देशव्यापी समस्याको रुपमा रहेको मैले बुझेको छु’, उनले भने, ‘क्रसरवालाहरुलाई बगरमा नपस्नको लागि भनिएको छ ।’ विभिन्न रणनीतिक योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी दुवाडीले जिल्लाको भौतिक विकासका लागि आवश्यक सहजीकरण गरिने समेत बताए । 
राजमार्ग विस्तार, क्रसर उद्योग, ठूला आयोजनाहरुलगायतका विषयमा एकिकृत रुपमा काम गर्ने उनले बताए । पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, मकवानपुरका स्थानीय विकास अधिकारी नारायण मैनाली, प्रहरी प्रमुख बसन्तकुमार लामालगायतको उपस्थिती रहेको थियो । 
Powered by Blogger.