‘पशुपंक्षी ऐन सरकारको प्राथमिकता’
हेटौंडा, २४ पुस÷नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पशुपंक्षी ऐनको विषयमा सरकारले आवश्यक कामको थालनी गरेको बताउँदै यसमा सरकारको तर्फबाट सहयोग हुने बताएका छन् ।
आइतबार हेटौंडामा भएको नेपाल पशुपंक्षी तथा औषधी व्यवसायी संघको २६ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले पशुको बीमा र उपचारको विशेष ध्यान दिँदै पशु ऐन बन्ने बताए । पशु स्वस्थ रहे मात्र मानिस स्वस्थ रहने भन्दै उनले स्वच्छ उत्पादनको लागि पशु स्वच्छ हुनुपर्ने र किसानलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरे । ‘पशुपंक्षी औषधी व्यवसायीको अभियान व्यवस्थित पेशागत पहिचान’ भन्ने अभियानका साथ साधारणसभा भएको हो । नेपाल पशुपंक्षी तथा औषधी व्यवसायी संघका अध्यक्ष हेमराज बडालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मल लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी दुवाडीले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने क्षेत्रमध्येको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा पशुपंक्षी औषधी व्यवसायीलाई चित्रित गर्दै व्यवसायीक रुपमा मात्र नहेरी अर्थतन्त्रलाई उकास्ने नीति लिएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा देशभरका पशुपंक्षी औषधी व्यवसायीहरु र प्रतिनिधिहरुको उपस्थिति रहेको छ । हेटौंडामा भएको साधारणसभाको कार्यक्रम संयोजकको रुपमा विश्वराज बानियाँ रहेका थिए ।

