डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी हेटौंडा गोल्डकपको फाइनलमा
हेटौंडा, २१ पुस/डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लव हेटौंडामा सञ्चालन भैरहेको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखराको साहारा क्लवसंग १–० गोल अन्तरको जित निकाल्दै मनाङमस्र्याङ्दीले फाइनल भिडन्त पक्का गरेको हो । मनाङले शुक्रबार नेपाल आर्मी र हेटौंडाको विजय यूथ क्लवबीच हुने खेलको विजेतासंग भोली शनिबार फाइनल भिडन्त गर्नेछ । मनाङका लागि निर्णायक गोल विदेशी खेलाडी ओलावालेले गरेका हुन् । ८ औं मिनेटमा डोना थापाको कर्नर प्रहारलाई ओलावालेले हेड मार्फत पोष्टको दिशा दिएका हुन् ।
खेलको दोस्रो मिनेटमा नै बिक्रम लामा गोल गर्नबाट चुके । उनको वान भर्सेज वानको प्रहार साहाराका गोलरक्षक सुजित गुरुङले रोकेका थिए । यस्तै खेलको २३ औं मिनेटमा मनाङका गोलरक्षक दिनेश थापा मगर अघि बढेको मौका छोप्दै साहाराका उत्तम गुरुङले गरेको प्रहार गोल लाइन एरियाबाट बिक्रम लामाले हेड मार्फत बचाएका थिए । सुरुवातीमा नै एक गोलले पछि परेको साहाराले दोस्रो हाफमा निकै सुधारिएको खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा पनि गोल गर्ने केही राम्रा मौकाहरु सृजना गरेको मनाङले थप गोल गर्न सकेन । खेलको म्यान अफ दी म्याच मनाङमस्र्याङ्दीका बिराज महर्जन घोषित भए । उनलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका हुन् । साहाराका प्रशिक्षक किरण श्रेष्ठले राम्रो खेल्दाखेल्दै हारिएको प्रतिक्रिया दिए । ‘मनाङको तुलनामा हाम्रा प्लेयर प्राय ः सबै जुनियर रहेका छन् । केही खेलाडीले त यही गेमबाट नै डेब्यू गरेका छन्’, उनले भने, ‘पाएको २÷३ वटा मौका सदुपयोग हुन नसक्दा हार व्यहोर्नुप¥यो ।’ आफ्ना सबै खेलाडीले सत्प्रतिशत खेलेको प्रशिक्षक श्रेष्ठले बताए ।
यता मनाङमस्र्याङ्दीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले साहाराले राम्रो खेल प्रश्तुत गरेको भन्दै आफ्ना खेलाडीमा तालमेलको अभाव देखिएको बताए । ‘आजको खेलमा देखिएको कमी कमजोरीलाई सुधार्दै फाइनलमा उत्रनेछौं’,उनले भने, ‘उपाधि जित्नको लागि धेरै मेहनत आवश्यक छ ।’ प्रतियोगिताको फाइनल भिडन्त २३ गते शनिबार हुनेछ । २०७२ साल बैशाख १२ गतेको भूकम्पमा निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठित खेलकुद प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको प्रतियोगिताको यस बर्षको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपियाँ प्राप्त गर्नेछ ।
